खरसाङको डाउहिल सुनौलो परिवार समितिको वार्षिक साधारण सभा सम्पन्न

IMG-20240603-WA0241.jpg

खरसाङ: खरसाङको डाउहिल सुनौलो परिवार समितिको वार्षिक साधारण सभा दावा लामाको अध्यक्षतामा सम्पन्न भयो। सह सचिव विनोद रसाइलीद्वारा सञ्चालित यस सभामा सर्वप्रथम वर्ष २०२३-२४ मा दिवङ्गत भएका समितिका आठजना सदस्यहरूका नाम स्मरण गरी श्रद्धाञ्जलीस्वरूप एक मिनट मौनधारण गरियो। सल्लाहकारहरूमा कानुनी सल्लाहकार अधिवक्ता कृष्ण छेत्री, उषाकिरण तामाङ, कपिल छेत्री, राजेश छेत्री, आर.पी. सुब्बा, रञ्जित देवान, उपाध्यक्षद्वय शान्ताकुमार प्रधान र सुष्मा मुखिया, सह सचिव भाष्कर थापा, सह कोषाध्यक्ष प्रभाकर प्रधान लगायत सदस्यहरूको बाक्लो उपस्थिति रहेको यस सभामा सचिव फुर्बा तामाङले स्वागत भाषणसँगै समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले वर्षभरि गरेको क्रियाकलापहरूमाथि प्रकाश पारे। यस क्रममा सचिवले स्वतन्त्रता दिवस, गणतन्त्र दिवस, सरस्वती पूजा, संसारी पूजाको आयोजनबाहेक पारम्परिक देउसी खेलेर समितिको निम्ति अतिरिक्त कोष निर्माण, गाउँ सफाई अभियान, समितिको सदस्यको उपचारार्थ सदस्यहरूबाट अनुदान सङ्ग्रह, पिउने पानीको समस्या समाधानार्थ पानीको मुहान साफ-सफाई, जलाशयको मरमत्तति, मक्किसकेको पाइपहरू हटाएर नयाँ पाइपहरूको जडान, समिति भवनमा रङ्गपचेरा लगायत गत धेरै लामो समयदेखि अचल र रद्दप्रायः भइसकेको समितिको पञ्जीकरण सङ्ख्या पुन:रुद्धार तथा डिजिटलाइजेसन-जस्ता अति जरूरी कामहरू निष्पादन गर्नसकेको तथ्य सभामा पेश गरे।यसबाहेक गत ४ अक्टोबरको दिन घटेको टिस्टाको ज्यानमारा र भयावह जलप्रलयमा प्रभावित पीड़ितहरूलाई गाउँबाट सङ्ग्रह गरिएको नगदराशि यथास्थान पुगी वितरण गरिएको घटनाको उल्लेख गर्दै आपद र सङ्कटको घड़ीमा समितिले निर्वाह गरेको मानवीय भूमिका र कर्तव्यबारे सभामा जानकारी गराए। सभामा कोषाध्यक्ष प्रवीण मुखियाले वार्षिक आय व्ययको फाटवारी सविस्तार राखे। यस अतिरिक्त आजको सभाको मुख्य बुँदाहरूमा एक थियो समितिको संविधान संशोधन। यस क्रममा भान्सा अलग भएका सदस्यहरूले पूर्ण प्रवेश शुल्क भुक्तान गरी सदस्यता पाउने वा समितिको सहुलियतहरूको हकदार हुने समितिको पुरानो नियमलाई संशोधन गरियो। नयाँ नियमअनुसार सदस्यको मूल घरबाट छुटेका सदस्यहरू वा सम्बन्ध विच्छेद भई माइता फर्की पुनर्स्थापित हुने सदस्यहरूले प्रवेश शुल्कको २५ प्रतिशत मात्र तिरेर सदस्यता ग्रहण गर्नसक्ने प्रावधान राखियो। यसबाहेक समयानुकूल सदस्यको वार्षिक भेटीसँगै मरणपुकार राशि र प्रवेश शुल्कलाई बढोत्तरी गरियो।संविधानमा परिवार सम्बन्धित स्पष्ट परिभाषा यसअघि नभएको हुनाले आजको सभाले परिवारको परिभाषासम्बन्धी कार्यकारी समितिले राखेको प्रस्तावनालाई पारित गऱ्यो। यस नियमअनुसार अबोप्रान्त प्रत्येक सदस्यले आफ्नो पारिवारिक विवरण समितिमा अनिवार्य रूपले बुझाउनुपर्ने स्पष्ट गरियो।चर्चामा पूर्व पदाधिकारीहरू लगायत उपस्थित सदस्यहरूले खुल्ला रूपले भाग लिएका थिए भने समितिको पक्षबाट अध्यक्ष, सचिव र सहसचिवहरूले बुँदाअनुरूप स्पष्टिकरण व्यक्त गरे। सभामा सल्लाहकारको पक्षबाट उषाकिरण तामाङ अनि कपिल छेत्रीले आफ्नो मन्तव्यमा वर्तमान समितिले गरेको क्रियाकलाप र उपलब्धिहरूप्रति सन्तुष्टि र बधाई टक्राए।कार्यकारी सदस्य रवीन तामाङले सभा विवरणी लिपिबद्ध गरेका थिए भने अन्त्यमा सागर थापाले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरियो भनी सह सचिव विनोद रसाइलीले प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement