हुम्लामा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’

IMG-20240603-WA0206.jpg

झापा: नेपाल ओलम्पियन एशोसिएसनले हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सञ्चालन गरेको छ। हुम्ला जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम सिमकोटमा भएको कार्यक्रममा ओलम्पियनहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाए।

नेपाल ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच्छाशक्तिले नै हरेक बालबालिकालाई सफलतातर्फ उन्मुख गराउने बताए। विश्वकीर्तिमानी धावक ओलम्पियन हरिबहादुर रोकायले दुर्गम जिल्ला जुम्लाबाट करिअर सुरु गर्दा पनि निरन्तर लगावका कारणले आफूले सफलता हासिल गरेको अनुभव सुनाए।

त्यसैगरी ओलम्पियन देवु थापाले अभिभावकलाई विश्वास दिलाउन सके हरेक किशोर किशोरीलाई खेलतर्फ लाग्न कठिन नभएको बताए । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले हरेक बालबालिका शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न सानैदेखि खेलकुदमा अभिरुचि दिलाउन शिक्षक तथा अभिभावकलाई आग्रह गरे।

तेक्वान्दोकी राष्ट्रिय खेलाडी सीता तामाङले जुम्बा प्रदर्शन गर्नुका साथै ओलम्पियन देवुले आत्मरक्षासम्बन्धि प्रशिक्षण गराइन्।

नेपालकै अति दुर्गम मानिएको कर्णाली प्रदेशको हुम्लामा महत्वपूर्ण कार्यक्रम गरेकोमा कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले नेपाल ओलम्पियन एसोसियसनलाई निरन्तर सघाउने प्रतिबद्धता जनाए। स्कुले किशोरकिशोरीलाई सानै उमेरदेखि खेलकुदमा अभिरुचि जगाउन नेपाल ओलम्पियन एशोसिएसनले स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालन गरेको हो।
यसैक्रमा एशोसिएसनले कार्यक्रममा भाग लिएका विद्यालयलाई झण्डै एक लाख बराबरको खेल सामग्री हस्तान्तरण गरेको छ।

About Author

Advertisement