सिलगढी: डोह ङाग छोइ खोर्लिङ गुम्बाले आज छेतर पूजाको आयोजना गर्यो। बौद्ध धर्म परम्पराअनुसार, छेतर पूजालाई आयु वरदान मानिन्छ। धार्मिक परम्पराअनुसार, नदीमा माछा दान गरेर आयु वरदानको पूजापाठ गरिन्छ। यसै पूजा सम्पन्न गराउन आज सिलगढीको गुरूङ नगरमा अवस्थित उक्त गुम्बाबाट धर्मगुरूहरूको एउटा टोलीसँगै भक्तजनहरू गजलडोबा पुगे। गुम्बा सञ्चालन समितिका अध्यक्ष डीबी योञ्जनले आज सम्पन्न भएको पूजा बारे जानकारी दिँदै भने, ‘हाम्रो धर्ममा यो पूजा एकदमै महत्त्वपूर्ण छ। आयु वरदानको पूजा हामीले प्रत्येक वर्ष गर्दै आइरहेका छौँ। वरदानको लागि माछा दान गर्न हामी आज टिस्टा नदीमा आएका छौँ। यो नदी ऐतिहासिक साथै संस्कृतिक रूपमा पनि हाम्रो निम्ति महत्त्वपूर्ण छl’
गुम्बाका धर्मगुरू लोपेन डेन्डुप शेर्पाको अगुवाइमा कुल सातजना लामाहरूले गजलडोबा परिसरमा बिहानैदेखि पूजापाठ शुरु गरे। धार्मिक नियमअनुसार, पूजापाठ सम्पन्न भएपछि लामासाथै उपस्थित भक्तजनहरूले क्रमैसँग नदीमा माछा दान गरे। उक्त पूजामा सिलगढीलगायत विभिन्न स्थानहरूबाट सयौँ भक्तजनहरूको उपस्थित रहेको थियो भने गुम्बाका प्रतिनिधिहरू चीफ प्याट्रोन गोपाल लामा, उपाध्यक्ष विष्णु लामा, सचिव एम के लामा, सहसचिव पृथ्वीराज ग्याबक, कोषाध्यक्ष किशोर लामा, पासाङ शेर्पा, सहल्लाकार सोनाम शेर्पा, सदस्यहरू कैलाश शेर्पा, अशोक कुमार तामाङ, जितेन लामा, मह्णेपा कल्पना तामाङ, रोजी घिसिङ, शान्ती सिंगर, अञ्जु लामा, सुमणी लामा, दासाङ्मु तामाङ आदिको उपस्थिति रहेको थियो।