झापा: झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमाम छात्राहरुको सुविधाका लागि निशुल्क सेनिटरी प्याडको व्यवस्था गरेको छ। दमक नगरपालिकाको सहयोग तथा स्वतन्त्र बिद्यार्थी युनियनको सक्रियतामा छात्राहरुका लागि सेनिटरी प्याड स्टोर मेसिन र दुई थान डिस्पोज मेसिन उपलव्ध गराएको हो। क्याम्पसमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख रामकुमार थापाले क्याम्पसलाई एक थान प्याड स्टोर मेसिन र दुई थान डिस्पोज मेसिन हस्तान्तरण गरेका हुन्। सो अवसरमा नगर प्रमुख थापाले बिद्यार्थीहरुको सहुलियत र सुविधाका लागि आवश्यक सहयोग गर्न नगरपालिका सधैं तयार रहेको उल्लेख गरे। उनले आगामी दिनमा बिद्यार्थीहरुको सुविधालाई मध्यनजर गर्दै थप सहयोगका कार्यक्रमहरु ल्याइने पनि प्रतिबद्धता जनाए। दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा अध्यक्ष भण्डारीले अधिकतम सुविधा सम्पन्न क्याम्पसको रुपमा दमक बहुमुखी क्याम्पसलाई बिकास गरेर लैजाने योजना रहेको बताए।अध्यक्ष भण्डारीले क्याम्पसमा कम्प्युटर सिकाईका लागि हाल २० वटा कम्प्युटर उपलब्ध गराइएको र आगामी दिनमा बिद्यार्थीहरुको आवश्यकता र मागलाई ध्यानमा राखेर थप कम्प्युटर उपलब्ध गराइने पनि बताए। सो अवसरमा क्याम्पस प्रमुख यज्ञराज गिरी, सञ्चालक समितिका पूर्व अध्यक्षद्धय सुरेश सुब्बा, देवी दाहाल, सञ्चालक समिति सदस्य महेन्द्रकुमारी लिम्बू , स्वतन्त्र बिद्यार्थी युनियनका सचिव दिपक लिम्बू लगायत क्याम्पसका प्राध्यापक, कर्मचारीहरुको उपस्थिति रहेको थियो।