नाम्ची: एसकेएम पार्टीले नाम्ची जिल्लाका सबै सातवटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। एसकेएमका सबै उम्मेदवारहरूले ६००० भन्दा धेरै मत पाएका छन्। अर्कोतिर, एसडीएफ अध्यक्ष पवन चामलिङ, एसडीएफ नेता भाइचुङ भोटिया र सिटिजन एक्सन पार्टीका प्रमुख समन्वयक गणेश कुमार राई जस्ता दिग्गज नेताहरूले हारको सामना गर्नु परेको छ।
बर्फुङ निर्वाचन क्षेत्रमा एसकेएम उम्मेदवार रिक्सल दोर्जी भोटियाले ८३५८ मतका साथ जित हासिल गरेका छन्। यस निर्वाचन क्षेत्रबाट एसडीएफले भाइचुङ भोटियालाई उठाएको थियो। पोकलोक कामराङ निर्वाचन क्षेत्रबाट एसकेएम पार्टीका वरिष्ठ नेता भोजराज राई विजय भएका छन्। उनले 8037 मत प्राप्त गरेका छन्। यहॉं एसडीएफ अध्यक्ष चामलिङ उनका प्रमुख प्रतिद्वन्दी थिए।
नाम्ची सिङ्गीथाङबाट मुख्यमन्त्रीकी धर्मपत्नी तथा एसकेएम उम्मेदवार कृष्ण कुमारी राई विजयी बनेकी छन्। उनले ७९०७ मत पाएका छन्। मल्ली निर्वाचन क्षेत्रबाट एसकेएम उम्मेदवार नर बहादुर प्रधानले चुनाउ जितेका छन्। उनले 7904 मत पाएका छन्। यहॉं सिटिजन एक्सन पार्टीका प्रमुख समन्वयक गणेश राई उनका प्रमुख प्रतिद्वन्दी थिए। नामथाङ रातेपानीबाट एसकेएम उम्मेदवार सन्जीत खरेलको जित भएको छ। उनले ८९४९ मत पाएका छन्।
यसरी नै तिमी नामफिङ निर्वाचन क्षेत्रबाट एसकेएम उम्मेदवार बेदुसिंह पन्तले चुनाउ जितेका छन्। उनले ६७५९ मत पाएका छन्। राङगाङ याङगाङ निर्वाचन क्षेत्रबाट एसकेएम उम्मेदवार राजकुमारी थापाको जित भएको छ। उनले ६५१४ मत पाएकी छन्। सिक्किमको एकमात्र सङ्घ सीटमा पनि एसकेएमको जित भएको छ। पूर्व सङ्घ विधायक सोनाम लामाले १९१९ मत हासिल गरेर विजयी बनेका छन्।