मंगन: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले राज्य विधानसभा चुनाउ २०२४ मा भारी बहुमतले जित हासिल गरेको छ। एसकेएम मंगन जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा जित हासिल गर्न सफल बनेको छ।
मंगन जिल्लाको काबी लुङचोक निर्वाचन क्षेत्रबाट एसकेएम उम्मेदवार थिन्ले छिरिङ भोटियाले ५८८२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दीहरू एसडीएफ पार्टीबाट जी. छोपेल लेप्चा र भाजपाबाट पूर्व विधायक उगेन नेडुप भोटिया थिए।
यसैगरी, जङ्गु निर्वाचन क्षेत्रबाट एसकेएम उम्मेदवार पिन्चो नामग्याल लेप्चाले चुनाउ जितेका छन्। उनले ६४०२ मत प्राप्त गरेका छन्। यहॉं एसडीएफले पूर्व मन्त्री सोनाम ग्याछो लेप्चा र भाजपाले फेन्जोङ लेप्चालाई उठाएको थियो।
लाचेन मंगन निर्वाचन क्षेत्रमा एसकेएम र एसडीएफबिच सोझो टक्कर थियो, जसमा एसकेएम उम्मेदवार साम्डुप लेप्चा विजयी भएका छन्। उनले ३९२९ मत प्राप्त गरेका छन्। एसडीएफले पूर्व राज्य सभा सांसद हिस्से लाचुङ्गपालाई उम्मेदवार बनाएको थियो।










