गान्तोक: लोकतन्त्रको उत्सवको रूपमा मानिने आम चुनाउ अन्तर्गत आज ११औं सिक्किम विधानसभा चुनाउको मतगणनासँगै सिक्किमे जनताले आगामी पाँच वर्षको निम्ति आफ्नो प्रतिनिधि एवं सरकार चुनेका छन्। भारतीय जनता पार्टी, सिक्किम सिक्किमे जनताले दिएको जनादेशलाई पूर्ण सम्मानसहित स्वीकार गर्दै बहुमत हासिल गरेर दोस्रोपटक सरकार गठन गर्न सफल बनेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अनि सम्पूर्ण विजयी जनप्रतिनिधिहरूप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ। यसै गरी विभिन्न प्रतिकूल परिस्थितिबीच, भारतीय जनता पार्टी, श्री नरेन्द्र मोदीज्यूको नेतृत्वाधीन सरकारको कार्यक्रम अनि राज्यका पार्टी नेतृत्वप्रति विश्वास जनाएर पार्टीलाई माया गर्ने अनि बहुमूल्य मत दिनुहुने सम्पूर्ण मतदाताहरू साथै तृणमूलस्तरमा खट्ने सम्पूर्ण कार्यकर्ताहरू प्रति आभार प्रकट गर्दछ। पार्टीको पक्षमा परिणाम आशानुकूल नरहे तापनि भाजपा सिक्किम सिक्किमे जनताको पक्षमा सदैव उभिएर राज्यको हित, कल्याणको निम्ति उत्तिकै प्रतिबद्ध भएर लागिपर्ने वचन दिन चाहन्छ। सदनमा पुग्न असफल बनेपनि आगामी पाँच वर्षसम्म भाजपाले सदैव जनताको पक्षमा एउटा जिम्मेवार विपक्षको भूमिका निभाइरहनेछ। सोही प्रकारले चुनाउ प्रक्रियालाई सुचारू रूपले सम्पन्न गराउन लागिपरेको चुनाउ आयोग, सम्पूर्ण कर्मचारीगण, सुरक्षाकर्मी, सञ्चारकर्मी साथै सम्बन्धित सबै निकायहरूप्रति पनि भाजपा सिक्किम धन्यवाद दिन चाहन्छ।
अन्तमा, प्रचण्ड जनादेश पाएपछि अब नयाँ गठन हुने सरकारले जनताका आशा र आकांक्षालाई पुरा गर्नका साथै सिक्किमको शान्ति श्रृंखला कायम राखेर भेदभावरहित शासन व्यवस्था स्थापित गर्नेछ भन्ने आशा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।











