गुवाहाटी: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार २ जूनमा चक्रवात ‘रेमाल‘को प्रभावको समीक्षा गर्दै प्रभावित राज्यहरूलाई सहयोग गर्ने आश्वासन दिए। नयाँ दिल्लीमा भएको भेटवार्तामा प्रधानमन्त्रीलाई चक्रवातले प्रभावित राज्यमा पार्ने असरबारे जानकारी गराइएको थियो। उत्तरपूर्वी राज्य असम, मिजोरम, मणिपुर, मेघालय र त्रिपुरामा बाढी र पहिरोका कारण भएको जनधनको क्षति र घर र सम्पत्तिमा भएको क्षतिबारे पनि छलफल भएको प्रधानमन्त्री कार्यालय (पीएमओ)ले एक विज्ञप्तिमा भन्यो। राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ)का धेरै टोलीहरू तैनाथ गरिएका छन्l जसले निकासी, एयरलिफ्टिङ र सडक सफा गर्ने कार्यहरू गरेका छन्। बैठकमा गृह मन्त्रालयले विपदको चपेटामा परेका राज्यका सम्बन्धित सरकारसँग नियमित सम्पर्कमा रहेको उल्लेख गरेको थियो। प्रधानमन्त्री मोदीले चक्रवातबाट प्रभावित राज्यहरूलाई केन्द्र सरकारले पूर्ण सहयोग जारी राख्ने बताए। उनले गृहमन्त्रालयलाई घटनाको नियमित समीक्षा गरी स्थितिको अनुगमन गर्न र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न निर्देशन दिएका छन्। असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी बुलेटिनका अनुसार शनिबार१ जूनमा आएको बाढीमा बालबालिकासहित कम्तीमा ११ जनाको ज्यान गएको छ। अर्कोतर्फ राज्यका नौ जिल्लामा करिब ६.२ लाख मानिस प्रभावित भएका छन् भने ४१ हजार ५६४ जना घरबारविहीन भएर राहत शिविरमा शरण लिएका छन्। यसका साथै बाढीले ४८७८.५ हेक्टर बाली जमिन, करिब २.३ लाख गाईवस्तु तथा कुखुरा तथा धेरै घर, सडक र अन्य पूर्वाधारमा क्षति पुगेको छ।