खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको रोहिणी टोल प्लाजा परिसरमा मैला फ्याँक्दै गरेको एउटा पिक अप म्यानलाई पञ्चायतद्वारा पक्राउ गरिएको छ। रोहिणीको टोल प्लाजा परिसरमा रहेको मैलाहरू घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाको अगुवाईमा पहिले नै सर सफाई गरिएको थियो। घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधानसितै भीबीडी टिमद्वारा यहाँ मैला सर सफाई गरिएको थियो भने पछिबाट जीसीबी लगाएर पनि उक्त परिसर सर सफाई गरेर मैला फ्याँक्न निषेध गरिएको थियो। तर पनि यहाँ सिलगढीको एक पिक अप म्यानले मैला फ्याँक्दै गरेको देखेर एकजना ट्रक चालकले पञ्चायत प्रधानलाई फोन गरेर सूचना दिएपछि घैयाबारी ग्राम पञ्चायत तीन र गाडीधुरा पुलिस आउट पोष्टको टिमद्वारा उक्त पिक अप म्यानलाई पञ्चायतद्वारा पाँच हजार जरिमाना तिराएको जानकारी प्राप्त भएको छ। रोहिणीको टोल प्लाजा परिसरमा कसैले पनि मैला फ्याँक्न मनाही गरिएको छ। कसैले यहाँ मैला फ्याँकेको पाइएको खण्डमा पाँच हजार जरिमाना लगाइने भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाले हाम्रो लगातर प्रयासको कारण आज मैला फ्याँक्दै गरेको पिक अप म्यानलाई पक्राउ गर्न सफल बनेका छौं अनि हामीले पञ्चायतको नियम अनुसार नै पाँच हजार रुपियाँको जरिमाना तिराएको छौं भनी बताएकी छन्। उनले दार्जीलिङबाट पैसा दिएर मैला फ्याँक्न पठाएको र उनीहरूले आफ्नो स्थान सफा पारे पनि अर्काको स्थान भने मैला पार्न यसरी फ्याकेको कारणले आज पक्राउ गरिएको बताएकी छन्। उनले रोहिणी क्षेत्र एकदमै स्वच्छ र सुन्दर छ तर यसरी अर्काले मैला फ्याँक्ने काम राम्रो होइन र सबैले मैला सठीक ठाउँमा सही तरिकाले फ्याँक्नु पर्ने पनि बताएकी छन्।

पञ्चायत प्रधान सुष्मा वाईबाले आगामी दिनमा कसैले पनि यस क्षेत्रमा मैलाहरू फ्याँकेको पाइएको खण्डमा पञ्चायत नियम अनुसार पाँच हजार जरिमाना लगाइने पनि जानकारी गराएकी छन्। यस पक्राउ कार्यमा ट्रक चालक संगठन र गाडीधुरा पुलिस आउट पोष्टलाई धन्यवाद दिएका छन् ।