झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका भिसा नदिएकोमा कडा प्रतिक्रिया व्यक्त गरेका छन्। आइतबार जुन २मा प्रतिनिधि सभामा बोल्दै उनले विश्वकप क्रिकेट आयोजना गर्ने देशले भिसा नदिँदा सिंगो नेपालमाथि अपमान भएको बताए। शाहीले परराष्ट्र नीतिमा प्रश्न उठाउँदै भने, “परराष्ट्र नीति पञ्चशीलको आधारमा बनाइएको हो कि पार्टी घोषणापत्रको आधारमा?” उनले ७६ वर्षको नेपाल -अमेरिका कूटनीतिक सम्बन्धको याद दिलाउँदै पञ्चशीलको आन्तरिक मामिलामा अहस्तक्षेप नीतिलाई उल्लंघन भएको बताए।

उच्च अदालतले निर्दोष ठहर गरेको, क्यान र आइसीसी ले स्वीकृत गरेको भए पनि सन्दीपलाई भिसा नदिँदा प्रधानमन्त्री र मन्त्रीलाई झन्डा हल्लाएर हिँड्न लाज नलाग्ने प्रश्न गरे। शाहीले परराष्ट्र र खेलकुद मन्त्रालयलाई चुप लागेर बस्ने भन्दै स्टन्ट बाजी मात्रै गर्ने आरोप लगाए।











