बिराटनगर :चाइना साउदर्न एयरलाइन्सले क्वाङचौ–काठमाडौँ उडान संख्या थपेको छ। जुन १ तारिख शनिबारदेखि थप उडान दिउँसो पनि हुन थालेको छ। यसअघि राति ११ बजे काठमाडौँ आइपुग्ने सो विमान राति १२ बजे फर्कने गर्थ्यो।
शनिबारदेखि थपिएको उडान हरेक दिन दिउँसो २ बजे काठमाडौँ आइपुग्ने र ३ बजे फर्कने तालिका छ। उक्त एयरलाइन्सले कोभिड–१९ महामारीपूर्व नेपालमा दैनिक दुई उडान गर्दै आएको छ।
नयाँ उडानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ र चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर सिए युले स्वागत गरेको थियो।
यो सहित चीनका चार वटा विमानसेवा एयर चाइना,चाइना साउदर्न,चाइना इस्टर्न एयरलाइन्स र सिचुवान एयरलाइन्सले छङ्तु, खुन्मिङ्ग, क्वाङ्चौमा सेवा पुर्याउँदै आएका छन् भने उतैको लगानीवाला हिमालय एअरलाइन्सले ल्हा सा, बेइजिङ, छोङचिङ, छिङ्ताओ,शाङ्हाईबाट काठमाडौँलाई जोडिरहेको छ। उसले अब छिट्टै हिन्दू धार्मिक तीर्थस्थल मानसरोवरका निम्तिसमेत सेवा शुरु गर्न लागेको स्रोतले बताएको छ। आलीमा निर्माणाधीन सुविधासम्पन्न नयाँ बिमानस्थल तयार हुनासाथ भारतसहित नेपालका हिन्दू धर्मावलम्बीलाई काठमाडौँ हुँदै कैलाश पर्वतको दर्शन गर्न सहज हुनेछ।










