झापा: इलामको करफोक हरियालीभित्र हुस्सु र कुहिरोले ढाकिरहने ठाउँ हो। तराईको अचाक्ली गर्मी छल्न आउनेका लागि करफोक क्षेत्र प्राकृतिक ‘एयर कन्डिसन’ बन्ने गर्छ। धुपी घारीको बिचमा सजिएको करफोकमा कुहिरोभित्र लुकामारी गर्न पाउँदा पर्यटक आनन्दित बन्ने गरेका छन्। करफोक पञ्चकन्या क्षेत्रमा पछिल्लो समय ग्रामीण पर्यटन प्रवर्धन गर्नका लागि सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरिएको छ।
करफोक खलङ्गा सामुदायिक होमस्टे पर्यटन कार्यालय काँकडभिट्टामा दर्ता गरी यहाँका सात परिवारले एक पटकमा ५० जना पर्यटक बास बसाउने गरी घरबास कार्यव्रmम सञ्चालन गरिएको छ। काठैकाठले निर्माण गरिएका चिटिक्क परेका घरमा पाहुनाको स्वागत सत्कार गर्न थालिएपछि अहिले करफोकमा पर्यटकको भिड लाग्न थालेको छ।
पर्यटन व्यवसायी तथा स्थानीय केदार शर्माले सूर्योदय नगरपालिकासहित इलामले अब मौसमी पर्यटन प्रवर्धन गर्नुपर्ने बताउछन्। उनी भन्छन , “हामीले यहाँको कुहिरो बेच्न सकेका छैनौँ, अब कुहिरो बेच्न सक्नु पर्छ।” उनले मौसम अनुसार पर्यटकका लागि प्याकेज निर्माण गर्न सके पर्यटकको आवागमन बढ्न सक्ने बताउछन्। शर्माले पछिल्लो समय करफोकमा घरबास सञ्चालन गर्दै आएका छन्।
यस्तै घरबास सञ्चालन गर्दै आएका चन्द्र सापकोटाले पर्यटकले रुचाउने मौसम भएकै कारण करफोकमा होमस्टे सञ्चालन गरिएको बताए। सापकोटाले सूर्योदय नगरपालिकाबाट परिकार बनाउने र स्थानीयस्तरमा खेती प्रविधिको तालिम पाएपछि घरबास सुरु गरिएको जानकारी दिए।
सापकोटासँगै करफोकमा ज्योति अधिकारीसहितका सात परिवारले एक घरमा आठ जनाका दरले पर्यटकलाई बास बसाउने गरी होमस्टे सञ्चालन गरेका छन्। “धेरै ठाउँका होमस्टेको अध्ययन गरेर रैथाने खानाका परिकार मात्र चखाउने गरी होमस्टे सञ्चालन गरेका हौँ,” अधिकारीले भने।
पर्यटन कार्यालय काँकडभिट्टाले जुन १मा करफोकका होमस्टेको प्रचार गर्दै इलामको पर्यटन पवर्धन गर्न सरोकारवालासँग छलफल गरेको छ। साबिकको मेची अञ्चलको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको पर्यटन प्रवर्धनको क्षेत्रमा काम गर्दै आएको कार्यालयले यी क्षेत्रको पर्यटन विकासका लागि सरोकारवालाको सुझावसमेत सङ्कलन गरेको हो।
कार्यालय प्रमुख छवि खतिवडाले ग्रामीण पर्यटन प्रवर्धन र विकासका लागि स्थानीयको आवश्यकता अनुसार काम गर्न सरोकारवालाको सुझाव लिएको बताए। उनले भने, “हामीले धेरै स्थानका होमस्टे अवलोकन गर्दा पूर्वमा पाहुना सत्कार (हस्पिटालिटी) मा ध्यान दिन आवश्यक देखिन्छ ।” प्रमुख खतिवडाले कार्यालयले गर्दै आएका गतिविधिको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यव्रmममा पर्यटक कार्यालय काँकडभिट्टाकै कर्मचारी निरोज कट्टेलले पर्यटकको अवस्थाका बिषयमा प्रस्तुतीकरण गरे। उनले कार्यालयले पर्यटकीय गन्तव्यको पहिचान गर्ने, सूचीकृत गर्ने र स्थानीय उत्पादनको ब्रान्डिङ गर्ने काम गर्दै आएको बताए।
इलामको पर्यटनका सवालमा भएको छलफलमा होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले मेची कोरिडोरमा रहेका पर्यटकीय गन्तव्य र यहाँ गरिने कार्यक्रमको वार्षिक क्यालेन्डर निर्माण गर्न सुझाव दिए। उनले एउटै समयमा धेरै स्थानमा कार्यव्रक्रम हुँदा पर्यटक अलमलमा पर्ने गरेको बताए। पौडेलले पर्यटन क्षेत्रमा काम गर्ने साना व्यवसायलाई दर्ता गर्न, सूचना केन्द्र स्थापना गरी पर्यटकका लागि प्याकेज निर्माण गर्न र प्रविधिसम्बन्धी तालिम सञ्चालन गर्न सके पर्यटन क्षेत्रमा सुधार गर्न सकिने बताउनुभयो।
स्थानीय होटल व्यवसायी, होमस्टे व्यवसायी, पर्यटनकर्मी र जनप्रतिनिधि सहभागी रहेको कार्यव्रmममा पर्यटन क्षेत्रका विभिन्न समस्या औँल्याइएको थियो।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले पर्यटन क्षेत्रको विकासका लागि तीनै तहका सरकारबिच समन्वयको खाँचो रहेको बताए । उनले कोशी प्रदेश सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी घोषणा गरे पनि हालसम्म स्पष्ट रणनीति बन्न नसक्दा समस्या भएको बताउछन्। अहिले इलाम आएका पर्यटकमध्ये ७० प्रतिशत पर्यटक सूर्योदयको कन्याम, अन्तु, फिक्कल करफोकबाटै फर्किने गरेका छन्। ३० प्रतिशत पर्यटक मात्र इलामका अन्य क्षेत्रमा जाने गरेका पाइएको छ।
करफोक क्षेत्रमा नेपालकै पुरानो विद्यालयमध्येको करफोक विद्यामन्दिर माध्यमिक विद्यालय, धुपीघारी, पञ्चकन्या मन्दिर, ऐतिहासिक खलङ्गा गडी, पुर्णेडाँडा, स्वामीपार्क जस्ता पर्यटकीय स्थल छन्। नगरले कन्यामदेखि पुर्णेडाँडासम्मको १२ किलोमिटर लामो ‘साइक्लिङ ट्र्याक’ समेत निर्माण गरिरहेको छ।
सरोकारवालाले इलामका सबै पालिकाले पर्यटनसम्बन्धी गुरु योजना निर्माण गर्न सुझाव दिएका छन्। इलाम नगरपालिकाको पर्यटन समितिका सदस्य राजेन्द्र बरालले अन्तरपालिका समन्वय आवश्यक रहेको बताए। इलाममा सानाठुला गरी चार सयको हाराहारी होटल तथा एक सयको हाराहारीमा घरबास रहेका छन्।









