कपिलवस्तुको सातौं शताब्दीको ऐतिहासिकस्थल सोनवागढ

IMG-20240602-WA0086.jpg

झापा: कपिलवस्तुको शिवराज नगरपालिका वॉर्ड नं. ३ मा अवस्थित सातौं शताब्दीको गुप्तकालीन ऐतिहासिकस्थल सोनवागढ काठमाडौँबाट पूर्व पश्चिम राजमार्ग हुँदै पश्चिम जाँदा ३०६.७ किलोमिटरको दूरीमा रहेको चन्द्रौटा बजारदेखि करिब ८ किलोमिटर उत्तरपूर्वमा प्राकृतिक सम्पदाले भरिपूर्ण हरियाली जङ्गल र बेल नदीको तटमा यो प्राचिन ऐतिहासिक स्थल सोनवागढ रहेको छ। जहाँ पुग्न मदवा गाउँबाट केही दूरीमा रहेको मैनार खोलाको झोलुङ्गे पुलबाट जानुपर्छ।

यस प्राचिनस्थलमा २०१८ सालमा लुम्बिनी विकास कोषका प्रमुख एवम् वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पहिलो चरणमा सो स्थलमा २ वटा ट्रेन्च बनाएर उत्खनन् कार्य गर्दा सो स्थलमा कपिलवस्तुको तिलौराकोट, कुदान, रुपन्देही जिल्लाको लुम्बिनीमा प्रयोग गरिएको प्राचिन ईट्टासँग मिल्दोजुल्दो ईट्टाहरु फेला पर्नुको साथै माटोको भाडाहरु, माटोको भाँडाका टुक्राहरु, माटोको घोडाहरु, विभिन्न आकृतिको मूर्ति, नन्दी आदी फेला परेकोले यो स्थल गुप्तकालीन रहेको भनेर बताए।
हिमाल उप्रेतीका अनुसार यो प्राचिनस्थल हाल लुम्बिनी विकास कोषअन्तर्गत नरहेको हुँदा सम्बन्धित नगरपालिकाले सोनवागढका लागि बजेटको व्यवस्था गरिदिएमा सो क्षेत्रमा पुनः उत्खनन् कार्यका लागि सहयोग गर्ने समेत बताएका छन। यो स्थलमा करिब पाँच किलोमिटर वरपरसम्म पुरातात्विक वास्तुहरु छरफस्ट अवस्था रहेको देख्न सकिन्छ।
साथै यस ऐतिहासिक स्थलको मध्य भागमा सोनवागढ मन्दिर रहेको छ। प्रवेशद्वारबाट प्रवेश गरेपछि पहिलो सानो ढिस्कोको ठुलो रुखमुनी हनुमान, सिंह र गणेशको मूर्तिपछि राखेर मन्दिरको स्वरुप दिइएको छ। त्यसको केही नजिकै एकतले सोनवागढ मन्दिर छ। मन्दिरको गर्भगृहको मध्य भागमा गोलाकार आकार शिवलिङ्ग छ भने बाँयातर्फको भित्तामा निकै नै कलात्मक शैलीको कालो प्रस्तरको निकै नै आकर्षक चामुण्डा देवीको मूर्ति रहेको छ। सो मूर्तिलाई स्थानीय भक्तजनहरु श्रद्धाका साथ पूजा अर्चना गरिँदै आइरहेका छन्। त्यहाँको प्राचिन अवस्था हेर्दा यो मन्दिर पनि पछि बनाइएको प्रष्ट देखिन्छ।
यस मन्दिरका पहिलो पुजारी स्व. बाबा बरन यादव, दोस्रो पुजारी माता मुन्डा यादव, तेस्रो बाबा सर्जु यादव र चौथो अर्थात् हालका पुजारी बाबा हुन। उनी विगत १७ वर्षदेखि पुजारी रहेको कोर्दा यादवका अनुसार यो कलात्मक मूर्ति र यहाँ रहेका विभिन्न प्राचिन मूर्तिहरु यही सोनवागढ जङ्गलमा फेला पारेरपछि मन्दिर निर्माण गरी स्थापना गरिएको स्वीकार गर्छन्।
यसबाट पनि सहजै अनुमान गर्न सकिन्छ यहाँ रहेका मूर्तिहरु ७ औं शताब्दीको गुप्तकालीनका हुन्। हालै मात्र सोनवागढ मन्दिरको दाहिनेतर्फ खुला आकाश मुनि शिवलिङ्ग र बसाहा बनाई २०२३ जनबरी १६मा शिलन्यास गरिएको बाबा यादव स्वयम् बताउछन्।
यसरी पुरातत्वस्थलमा पुरातत्व विभागको स्वीकृति नलिई जथाभावी मठ मन्दिर र अन्य विभिन्न भवनहरु बनाउँदा ऐतिहासिक स्थलमा रहेका भग्नावशेष लोप हुँदै जाने सम्भावना बढी रहेको छ।
सोनवागढ मन्दिरमा कुनै पनि किसिमको बलिप्रथा रहेको छैन। विशेषगरी सोमबार यस मन्दिरमा स्थानीय भक्तजनहरुको भिड हुने गर्दछ भने हिन्दुहरुको महान पर्व विजयादशमीको नवमीमा यस मन्दिरमा विशेष पुजा हुने गर्दछ।
स्थानीय समाजसेवी सन्जय मल्लका अनुसार ऐतिहासिक स्थलको किनारमा रहेको बेल नदीमा आउने बाढीले गर्दा प्रत्येक वर्ष सोनवागढको माटो कटान गर्दा ऐतिहासिक स्थलका ढिस्काहरु नै बाढीले बगाउने हो कि भनेर चिन्ता व्यक्त गर्छन । तसर्थ सोनवागढलाई संरक्षण गर्नका लागि यहाँको नगरपालिकाले समयमा नै नदी किनारमा ढुङ्गाको पर्खाल लगाउन अति नै आवश्यक रहेको छ। साथै यस सोनावढलाई व्यवस्थित गर्न सकियो भने यो स्थल कपिलवस्तु जिल्लाको थप निकै नै सुन्दर पर्यटकिय एवम् धार्मिक स्थल बन्ने बढी सम्भावना रहेको समाजसेवी मल्ल बताउछन।
केही वर्ष अगाडि लुम्बिनी विकास कोषले सोनवागढको ठुलो ऐतिहासिक ढिस्को अर्थात् नदी किनार रहेको स्थानमा संरक्षणका लागि सानो पत्थरको पर्खाल र तार जाली लगाएको थियो।
यस ऐतिहासिक स्थलको संरचना हेर्दा यो क्षेत्र तत्कालीन कुनै राजाको राजदरबार हुन सक्ने अनुमान समेत गरिन्छ।
प्राचिन कपिलवस्तु जिल्लामा यस्ता पुरातात्विक स्थलहरु करिब एक सयभन्दा बढी छन्। मन्दिरको प्रमुखद्वारको बायाँतर्फ यो प्राचिनस्थल हो भनेर पुरातत्व विभागले निलो साइनबोर्ड समेत राखिएको छ।

About Author

Advertisement