खरसाङ: शिलङका एक गायक तथा युट्यूबर रजत तामाङले अनुसूचित समुदायमाथि गरेको अभद्र टिप्पणीलाई लिएर चौतर्फी विरोध भएपछि रजत तामाङले सामाजिक सञ्जालमार्फत मौखिक अनि लिखित रूपमा माफी मागिसकेको भए तापनि अनुसूचित जाति समुदायहरू तिनको माफीबाट सन्तुष्ट छैनन्। तिनीहरू चाहन्छन् रजत तामाङले कठोर सजाय पाउनुपर्छ। यसै विषयलाई लिएर आज खरसाङको गोर्खा जनपुस्ताकालयमा दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक, सिलगढी लगायत विभिन्न क्षेत्रका अनुसूचित जातिका प्रतिनिधिहरूको एक सभा बसन्त राज दियालीको सभापतित्वमा अनि राजेश गजमेरको विशेष पहलमा सम्पन्न भयो। सभामा वक्ताहरूले रजत तामाङलाई प्रशासनले अझसम्म पक्राउ नगरेकोमा खेद प्रकट गरे। तिनीहरूले रजत तामाङले माफी होइन सजाय पाएको हुनुपर्छ भन्दै प्रशासनले अतिशीघ्र पक्राउ गरी कठोर सजाय दिनुपर्छ भनी माग गरे। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै राजेश गजमेर अनि सञ्जय पोर्तेलले रजत तामाङले माफी मागेर नहुने बताउँदै तिनले कानुन अनुसार सजाय पाउनुपर्छ भनी बताए। तामाङले जसरी अनुसूचित जातिमाथि अभद्र टिप्पणी गरेका छन् त्यो असहनीय छ भन्दै आज तिनको बयानले सम्पूर्ण गोर्खा जातिलाई कलङ्कित पारेको छ भनी बताए।