पर्यटन दार्जीलिङ पहाडको मेरुदण्ड हो: अनित थापा
खरसाङ: जीटीए पर्यटन विभाग अनि खरसाङ एरो क्लबको संयुक्त तत्वावधानमा आयोजना गरेको प्यारा- ग्लाइडिङ्गको सफल परीक्षणपछि व्यवसायिक उडान शुरु भएको छ। आज यसैको क्रममा जीटीए चिफ् अनित थापा, सभासदहरू नवराज छेत्री, नुरी शेर्पा, परेश तिर्कीको उपस्थितिमा खरसाङको सिलिम हिल नजिक रोहिणीको चिसो पानी, लाप्चे खेतीबाट उडान भरेको ३ वटा प्यारासुटहरूले सफलतापूर्वक रोहिणीमा अवतरण गरेको छ।
प्यारा ग्लाइडिङ्ग जस्तो एड्भेन्चर पर्यटनलाई खरसाङमा स्थापित गर्नु पाउँदा खुसी व्यक्त गर्दै अनित थापाले भने, “खरसाङमा केही वर्ष अघि पनि प्यारा- ग्लाइडिङ्गको परीक्षण गरिएको थियो तर ल्याण्डिङमा समस्या आएको थियो। एरो क्लब, खरसाङले विगत एक वर्षदेखि प्यारा- ग्लाइडिङ्गलाई सफल तुल्याउन काम गरिरहेको थियो। आज जीटीए पर्यटन विभागसँगको संयुक्त तत्वावधानमा खरसाङमा प्यारा- ग्लाइडिङ्ग शुरु हुन गईरहेको छ।”
थापाले थप भने, “पर्यटनले क्षेत्रको अर्थतन्त्रलाई अघि बढाएर लान्छ। रोजगारको मौका दिलाउँछ। प्यारा- ग्लाइडिङ्गले पहाडको पर्यटनलाई नै टेवा पुर्याउने छ। खरसाङ आएपछि पर्यटकहरू दार्जीलिङ्ग, मिरिक जानेछन्। पर्यटन दार्जीलिङ्ग पहाडको मेरुदण्ड हो।”
एरो क्लब, खरसाङका प्रतिस छेत्री अनि रिकेस राईले जानकारी दिए अनुसार निजी कम्पनी, खरसाङ एरो क्लबले जीटीए पर्यटन विभागसँग मिलेर प्यारा ग्लाइडिङ्गलाई सञ्चालन गर्नेछ।
प्यारा ग्लाइडिङ्ग उडान समय ५ देखि १० मिनेटसम्म रहनेछ। उडानको उचाई समुन्द्र तटदेखि ८४० मिटरमाथि रहनेछ। हवाई दूरी एक किलोमीटरको रहनेछ।
प्यारा- ग्लाइडिङ्ग परीक्षण उडान सकिसकेको छ। करिब २० वटा परीक्षण उडान पूर्ण गरेका छन्। आगामी २ जूनदेखि व्यवसायिक उडान सुरु हुनेछ। कम्पनीले शुरुवातमा १० वटा ग्लाइडर राख्नेछन्। ग्लाइडिङ्गका व्यावसायिक पाइलट अथवा ग्लाइडरहरू सिक्किमका रहेका छ्न् जसलाई ग्लाइडिङ्गको अनुभव २००७ साल देखि रहेको छ। यसको बुकिङ रोहिणी जी टी ए गेस्ट हाउस नजिक रहेको छ। त्यहीबाट पिक अप हुनेछ अनि उडानपछि त्यही छोडिनेछ।