झापा: झापाको कमल गाउँपालिका वॉर्ड प्रशासनिक विभाग नं. ५ स्थित मंगलमय माविमा विश्व सुर्तिजन्य पदार्थरहित दिवसको अवसर पारेर बिद्यार्थी तथा अभिभावकहरुका लागि एक दिवसीय सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔं भन्ने मुल नारासहित मनाइएको यो दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय झापाको सहयोगमा बिद्यालयमा रहेको स्वास्थ्य इकाईले सो कार्यक्रम गरेको हो। स्वास्थ्य इकाइकी प्रमुख मुना अधिकारीले सो अवसरमा सहभागीहरुलाई सुर्तिजन्य बस्तुको प्रयोगले मानव स्वास्थ्यमा पार्ने प्रभाव, परिवार र समाजमा हुने नकारात्मक असर र यसबाट बच्न युवा तथा बालबालिकाहरुले अपनाउनु पर्ने सावधानी लगायतका बिषयमा सहजीकरण गरेकी थिइन्। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थबहादुर थापाको अध्यक्षता र निमित्त प्रधानाध्यापक डम्बरुप्रसाद पोखरेल लगायतको विशेष उपस्थितिमा भएको सचेतनामुलक सो कार्यक्रममा वर्क फर नेपालका प्रतिनिधि उमेश पाण्डे, स्वास्थ्य चौकी लखनपुरमा कार्यरत महिला स्वास्थ्य स्वंसेविका शान्ता बस्नेत, शिक्षक प्रतिनिधि सरोज श्रेष्ठ, सो बिद्यालयका पूर्व बिद्यार्थी अनिल पराजुली लगायतको पनि उपस्थिति रहेको थियो। सो अवसरमा चुरोट, बिँडी, हुक्का, तम्बाकु लगायतका सुर्तिजन्य पदार्थमा मानव स्वास्थ्यलाई गम्भिर असर पुरयाउने ७ हजार प्रकारका रसायनहरु हुने र ति मध्ये ६९ प्रकारका रसायनका कारण क्यान्सरको जोखिम हुने भएकाले यसको सेवनबाट टाढै हुनुपर्ने जानकारी दिए। सो कार्यक्रमको सञ्चालन बिद्यालयकी शिक्षक तथा स्वास्थ्य इकाई सदस्य साइना सापकोटाले गरेकी थिइन्। बिद्यालयमा अध्ययनरत बालबालिकाहरु किशोरावस्थामा प्रवेश गरेसँगै सुर्तिजन्य पदार्थको कुलतमा फस्न सक्ने खतरा हुने भएकाले र समाजमा सचेतना फैलाउन पनि उनीहरुकै भुमिका धेरै हुने यथार्थलाई आत्मसाथ गर्दै सरकारले बिद्यालयलाई यस किसिमको कार्यक्रम सञ्चालनका लागि रोजेको स्वास्थ्य सरोकारवालाहरु बताउँछन्। सो सचेतनामुलक कार्यक्रममा करिब ६० जनाको सहभागिता थियो।