कङ्गोमा मृत्यु भएका नेपाली शान्ति सैनिक राईलाई राष्ट्रसंघबाट मरणोपरान्त सम्मान

IMG-20240601-WA0077.jpg

झापा: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भुपजित राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन। अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका अवसरमा मई ३० तारिख संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको सो पदक संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरिएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

सो अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे। राईको गत अक्टोवर १३ मा कंगोमा निधन भएको हो।
सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मईलाई अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका रूपमा मनाइने गरेको छ। नेपाल राष्ट्रसंघीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने देश मध्येको एक हो।
छ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन्। राष्ट्रसंघले अबेई, मध्य अफ्रिकी गणतन्त्र कङ्गो, साइप्रस, प्रजातान्त्रिक गणतन्त्र कंगो, इराक, कोसोभो, लेबनान, लिबियामा नेपाली शान्ति सेनालाई खटाइरहेको छ। पूर्वी सोमालिया, दक्षिण सुडान, पश्चिमी सहारा र यमनमा पनि नेपाली शान्ति सेना तैनाथ छन्।
नेपाल सरकारले नेपाली सेना, सशस्त्र पुलिस बल र नेपाल पुलिसका सुरक्षाकर्मीलाई शान्ति सेनाका रूपमा खटाउने गरेको छ।

About Author

Advertisement