सिन्धुपाल्चोकमा लिच्छवीकालीन अभिलेख भेटिए

IMG-20240601-WA0014.jpg

झापा: सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१०, महादेवटारमा लिच्छवी लिपियुक्त शिवलिङ्ग भेटिएको छ। साबिक भोटसिपा गाविस वॉर्ड नम्बर ८ मा लिच्छवी लिपियुक्त शिवलिङ्ग आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरि पीठमा छ पङ्क्तिको प्राचीन अक्षर भेटिएको छ।

लिपिविज्ञ डा. श्यामसुन्दर राजवंशीले शिवलिङ्गलाई स्थानीय जनसमुदायमध्ये कतिले जङ्गेश्वर भन्ने गरेको र कतिको तिलेश्वर गुठीसहित मन्दिरको भग्नावशेषसमेत रहेको भन्ने गरेको जानकारी दिए।
उन्का अनुसार हिमवत्खण्ड मिडिया प्रालिको कार्यादेशमा पुरातात्त्विक सम्पदा संरक्षणसम्बन्धी कामको सिलसिलामा खोज तथा अभिलेखीकरण गर्ने क्रममा पुरातत्त्व विभागका पूर्वउपसचिव मोहनसिंह लामा र कम्पनीका प्रबन्ध निर्देशक श्रीकृष्ण धिमालसहितको टोलीले मई २६मा यो अभिलेख पत्ता लगाएको हो।
सो टोलीले उपलब्ध गराएको तस्बिरका आधारमा अभिलेखमा अङ्कित मिति संवत् ४४२ पौषकृष्ण ५ देखिएको छ। उनले यो शकपूर्व २ को लिच्छवी संवत् भएकाले तत्कालीन शक ४४० पौष हुने भएकाले तदनुसार ४४० र १३५ वर्ष जोड्दा ५७५ विक्रम् संवत् हुने बताए। अभिलेखमा भीमगुप्त र उनका छोरा देवगुप्तको नाम देखा परेको छ।
यसअघि पाटन स्वथ टोलको लिच्छवी संवत् ४११ को अभिलेखमा तत्कालीन विषयपति भीमगुप्तको नाम उल्लेख भएको देखिएको थियो। उनका अनुसार अहिले सो अभिलेखमा पनि भीमगुप्तको नाम देखिएकाले सम्भवतः उनै भीमगुप्त हुनु पर्छ भन्ने अनुमान गर्न सकिन्छ। अभिलेखको सुरु ‘स्वस्ति नित्यानित्य’ बाट भएको छ।
लिपिविज्ञ राजवंशीका अनुसार पुरातत्त्व विभागले अभिलेखको विस्तृत अध्ययन अनुसन्धान गर्न प्राविधिकसहित विज्ञ टोली खटाएको छ। उनले विज्ञ टोलीको स्थलगत अध्ययन अनुसन्धान पूरा भइसकेपछि मात्र अरू थप विस्तृत विवरण आउने बताएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement