सोनादा: टिस्टाभेल्लीमा मेधावी विद्यार्थीहरूलाई स्व रामबहादुर छेत्री स्मृति शैक्षिक मेधावी पुरस्कारसँगै मेघनाथ छेत्रीकृत पाँचवटा पुस्तक वितरण एवम् आध्यात्मिक जागरण समारोह सम्पन्न हुने भएको छ। सोनादा डिग्री कलेजको नेपाली विभागका उप प्राध्यापक तथा टिस्टाभेल्ली निवासी तथा वर्तमानमा सुकनामा बसोबास गरिरहेका मेघनाथ छेत्रीले आफ्ना पिता स्व रामबहादुर छेत्रीको पुण्य स्मृतिमा आगामी २ जूनको दिन आफ्नै पैतृक ठाउँ टिस्टाभेल्ली बर पिपल गाउँको सार्वजनिक भवनमा एक कार्यक्रम सम्पन्न गरी वर्ष २०२३ र २०२४ मा टिस्टाभेल्ली उच्चत्तर माध्यमिक विद्यालयबाट माध्यमिक र उच्चतर माध्यमिक परीक्षामा प्रथम दर्जामा उत्तीर्ण गर्ने साथै टिस्टाभेल्लीदेखि बाहिरका स्कूलहरूबाट दशौं र बाह्रौं श्रेणीका विभिन्न बोर्ड परीक्षाहरूमा प्रथम दर्जामा नै उत्तीर्ण गर्ने बर पिपल गाउँका विद्यार्थीहरूलाई शिक्षाप्रति प्रेरित गर्ने उद्देश्यले स्व रामबहादुर छेत्री स्मृति शैक्षिक मेधावी पुरस्कार साथै मेघनाथ छेत्रीद्वारा लिखित सन् २०२१ देखि २०२३ सम्म प्रकाशित पाँचवटा पुस्तक-कृति पठन (सन् २०२१), मन (सन् २०२१), भालो बन्धुको सम्झनामा(सन् २०२२), कृति अध्ययन( सन् २०२२) र विविध अध्ययन(सन् २०२३) वितरण साथै आध्यात्मिक जागरण कार्यक्रम गर्ने निश्चय गरेको छ। कार्यक्रममा सङ्घ लोक सेवा आयोग जस्ता देशको उच्च निकायद्वारा सम्पन्न गरिएको परीक्षामा राष्ट्र स्तरमा ५२औं स्थान हाँसिल गरेकी दार्जिलिङकी जयश्री प्रधान विशेष रुपमा उपस्थित भई विद्यार्थीहरूलाई उक्त परीक्षाका आफ्ना अनुभवहरू साझा गर्नेछन्। उनलाई सम्मान पनि जनाइनेछ। कार्यक्रममा तकदाह- टिस्टाभेल्ली क्षेत्रका भाषा- साहित्य तथा शिक्षा र अध्यात्ममा सरोकार राख्ने गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहनेछन्। पहिलो चरणमा पुरस्कार वितरणको कार्यक्रम सकिएपछि बेलुकी चार बजीदेखि मानव उत्थान सेवा समिति टिस्टाभेल्ली शाखाको विशेष सक्रियतामा सन्त महात्माहरूको उपस्थितिमा आध्यात्मिक जागरण समारोह सम्पन्न हुनेछ।