गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले राज्य विधानसभाको चुनाउमा पार्टीको जित निश्चित रहेको दाबी गरेको छ। एसकेएमले राज्यका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवार लगायत समस्त पार्टी सहयोद्धाहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेको छ।
एसकेएम प्रचार प्रसार उपाध्यक्ष प्रभारी बीरेन्द्र तामलिङद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, यसपालिको चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले जीत प्राप्त गरिसकेको र सिक्किमका सबै जनता र कार्यकर्तालाई निश्चिन्त बस्न आग्रह गर्दछ। विपक्षी पार्टीहरूले हार स्वीकार गर्न नसकेर दङ्गा-फसाद गर्ने, शान्ति शृङ्खलालाई भङ्ग गर्ने, ‘आपस्तमा झै-झगड़ाको परिवेश सृजना गर्ने जस्तो माहौल सिर्जना गर्नसक्छन्, त्यसले गर्दा एसकेएम पार्टीका कार्यकर्ता यस्ता तत्त्वबाट सजग अनि होशियार बस्न अपील गर्दछ।’
एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो बसेको उम्मेदवारहरूको बैठकमा सन्देश जारी गर्दै सिक्किमको शान्ति शृङ्खलालाई कुनै अवस्थामा भङ्ग हुन नदिने दिशामा कड़ाई गर्ने बताइसकेको कुरा विज्ञप्तिमा उल्लेख छ। पार्टी अध्यक्षको सन्देशलाई शिरोपर गरी एसकेएम पार्टीका सहयोद्धा तथा क्रान्तिकारी साथीहरूले शान्ति एवं सद्भावना कायम राख्ने दिशामा काम गर्नेछन् भन्ने कुरामा पार्टी विश्वस्त रहेको बताइएको छ।
मतगणनापछि केही विपक्षी पार्टीहरू हतोत्साहित भएर विभिन्न प्रकारका भड़्काउपूर्ण क्रियाकलाप गर्नसक्छन् भन्दै एसकेएमले पार्टी कार्यकर्तालाई उत्तेजित नभई शान्त माहौललाई बनाइराख्ने दिशामा पहल गर्न आह्वान गरेको छ। यसका साथै मतगणनापछि राज्यको शान्ति श्रृङ्खलालाई कायम राख्नका निम्ति समन्वय गरिदिन राज्यका सबै राजनीतिक दलहरूलाई पनि एसकेएम पार्टीले सल्लाह दिएको छ।
विज्ञप्तिमा अझ भनिएको छ, ‘सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले विगत वर्ष २०१९ को चुनाउमा कुनै प्रकारको हिंसात्मक गतिविधिमा सामेल नभई राज्यको शान्ति, सौहार्दता र सद्भावनालाई कायम गर्न सक्षम बनेको थियो। त्यतिबेला एउटै पनि झै-झगडाको माहोल उत्पन्न हुन दिएको थिएन। सोही प्रकारले यसपालिको चुनावी मतगणना अवधि पनि उस्तै वातावरण कायम राखिदिने सबै राजनीतिक दलका नेता र कार्यकर्तालाई एसकेएम पार्टी अपील गर्दछ।’
एसकेएमले आउँदो मतगणनाका लागि भारतको निर्वाचन आयोग, राज्य निर्वाचन आयोग अनि राज्य प्रशासनद्वारा जारी विभिन्न दिशा निर्देशनहरूलाई पूर्ण रूपमा पालन गरी समन्वय गरिदिने हार्दिक अनुरोध पनि गरेको छ।