अलिपुरद्वार: आज विश्व धुम्रपान निषेध दिवस हो। यस अवसरमा अलिपुरद्वार शहरमा अलिपुरद्वार जिल्ला स्वास्थ्य विभागद्वारा सचेतना र्याली निकालियो। र्यालीमार्फत सुर्तीजन्य पदार्थ सेवन नगर्न आग्रह गरियो। जिल्ला मुख्य स्वास्थ्य अधिकारीको कार्यालयबाट शुरु भएको र्यालीले अलिपुरद्वार शहरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। र्यालीमा स्वास्थ्यकर्मी बाहेक विभिन्न संघसंस्थाका सदस्य तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सुर्ती स्वास्थ्यका लागि निकै हानिकारक रहेको र यसको सेवनले क्यान्सरलगायतका विभिन्न रोग लाग्ने स्वास्थ्य विभागका अधिकारीहरुले बताए। सुर्तीजन्य पदार्थबाट हुने विभिन्न रोगबाट बच्नका लागि जनताले जतिसक्दो चाँडो सुर्तीजन्य पदार्थको सेवन बन्द गर्नुपर्ने आवश्यकता छ। सुर्तीजन्य पदार्थको सेवनबाट वर्षेनी करोडौं मानिस क्यान्सर र टीबीजस्ता रोगको शिकार हुने गरेको उनले बताए। त्यसैलाई ध्यानमा राखेर जनताले सुर्तीजन्य पदार्थको सेवन नगर्नका लागि यो सचेतना र्याली आयोजना गरेको हो।









