सिलगढी: सिलगढीमा चलिरहेको खानेपानी संकटलाई लिएर विपक्षी दलहरूले सिलगढी नगरनिगम बोर्डलाई घेरा गर्न थालेका छन्। यसै शृंखलामा आज भाजपा दार्जिलिङ जिल्ला समितिद्वारा सिलगढीमा चलिरहेको खानेपानीको समस्यालाई लिएर नगर निगम अगाडि विरोध र्याली निकाल्यो। सिलगढी कञ्चनजङ्घा स्टेडियमको स्विमिङ पुलबाट शुरु भएको र्याली सिलगढी नगरनिगमको कार्यालयमा पुग्यो।

भाजपाका नेता र समर्थकहरू सिलगढी नगरपालिकामा प्रवेश गर्न चाहन्थे, तर नगरनिगमको ढोका बन्द गरिएको थियो। त्यसैले गेट अगाडि नै विरोध प्रदर्शन गर्न थाले। भाजपाका केही नेताहरूले सडकमै बसेर विरोध गरे। त्यसैगरी आज भाजपा समर्थकहरुले मेयर गौतम देवको पुत्ला दहन गरे। सिलगढीका जनतालाई आधारभूत सेवा प्रदान गर्न वर्तमान नगरनिगम बोर्ड पूर्णतया बेकार भएको भाजपा नेताहरू बताउँछन्। त्यसैले मेयर गौतम देवले तत्काल राजीनामा दिनुपर्छ भन्ने मागउनीहरूले गरेका छन्। विरोध कार्यक्रममा आज विपक्षी दलका नेता अमित जैनलगायतका नेताहरू तथा समर्थकको सहभागिता रहेको थियो।