नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ध्यान शुरु गरेका छन्। दुई महिनादेखि लोकसभा निर्वाचन अभियानको अगुवाई गरेका मोदीले अन्तिम मतदान अघि ध्यान गरेका छन्। नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक मेमोरियल पुगेका मोदी भगवती अम्मान मन्दिरमा पूजा गरेपछि ध्यानमा बसेका थिए। उनी भोलि जून १ मा त्यहीँ बस्नेछन्। लोकसभा निर्वाचनको सातौं र अन्तिम चरणको मतदान पनि भोलि हुँदैछ। धोती र सेतो शल ओढेका प्रधानमनत्री मोदीले मन्दिरमा पूजा गरे र ‘गर्भगृह’ परिक्रमा गरे । पुजारीहरूले एक विशेष आरती गरेर उनलाई मन्दिरको प्रसाद दिएका थिए।

प्रधानमनत्री मोदी राज्य सरकारले सञ्चालन गरेको शिपिंग कर्पोरेसनको फेरीमा चढेर समुन्द्र तर्दै चट्टान स्मारक पुगेका थिए। ध्यान मण्डपम्मा ध्यान बस्नुअघि मोदी केहीबेर मण्डपममा जाने सिढीमा उभिएर चारैतिर फैलिएको समुद्रको मनोरम दृश्य अवलोकन गरेका थिए। प्रधानमन्त्री मोदीले रामकृष्ण परमहंस, माता शारदा देवीको तस्वीरमा पुष्पवृष्टि गर्नुका साथै स्वामी विवेकानन्दलाई पुष्पहार अर्पण गरे। शिवगंगामा सम्वाददाताहरुसँग कुरा गर्दै तमिलनाडु भाजपा अध्यक्ष के अन्नामलाईले प्रधनमन्त्रीको स्मारक भ्रमणलाई उनको निजी भ्रमण भएको बताए। ‘यो प्रधानमन्त्रीको व्यक्तिगत भ्रमण हो,’उनले भने, ‘त्यसैले पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रममा सहभागी छैनन्। विवेकानन्द स्मारकमा मोदीको ४५ घण्टा ध्यानका लागि कडा सुरक्षालगायत सबै व्यवस्था मिलाइएको छ।