झापा: दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। इलाका पुलिस कार्यालय तुलसीपुरका डिएसपी ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सो ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो। बिहीबार मई ३०, दिउँसो ४ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा बिहीबार राति ९ बजेतिर मृत्यु भएको हो। दाङ तुलसीपुर – २ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरित दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्। उक्त दुर्घटनामा परि अटो चालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा घाइते भएका छन्। उनको नेपालगञ्जमा उपचार भइरहेको छ।