झापा: गत मंगलबार राती बर्षासँगै आएको हावाहुरीले झापामा अढाई करोड भन्दा बढी नोक्सान भएको छ।झापाको मेचीनगरमा हावाहुरीले ठुलो नोक्सानी गरेको पुलिसले जनाएको छ। जिल्ला पुलिस कार्यालय झापाका अनुसार मेचीनगर- १० प्रगति टोलका स्थानीय डिल्लीराम श्रेष्ठले सञ्चालन गरेको भेनियर उद्योगमा मात्रै एक करोड बराबरको क्षति भएको हो। सो उद्योगमा भेनियर पत्ता, कामदार बस्ने कटेज, पिलिङ मेसिन, चाइनिज मेसिन लगायतमा क्षति हुँदा सो बराबरको नोक्सान भएको पुलिसको भनाई छ। हावाहुरीले सोही वडाको लालपानीका श्याम न्यौपानेको सिद्धिविनायक भेनियर उद्योग, यामप्रसाद आचार्यको घर, मेदनी खनालको घर, राधिका राजवंशीको घर र पसल, ख्याम प्रसाइँले सञ्चालन गरेको शिवम् प्लाई उद्योग , अमित सुर्खेतीको खाजा घरमा समेत नोक्सानी भएको जनाइएको छ। ति उद्योग तथा सर्वसाधारणका घर, कटेजहरुमा कूल २ करोड ६२ लाख बराबरको क्षति हुन पुगेको पुलिसले जनाएको छ।