झापा: झापाली समाज अमेरिकाले शुरु गरेको एक व्यक्ति, एक छात्रवृत्ति अभियानमा झापाली समाज साउदी अरबले पनि साथ दिएको छ। दुई जना बिद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यले पाँच लाख रुपैयाँ प्रदान गर्दै झापाली समाज साउदी अरबियाले यो सामाजिक काममा साथ दिएको हो। झापाली समाजको प्रस्तुति शिक्षामा वार्षिक छात्रबृत्तिको लागि अक्षयकोष भन्ने उद्धेश्यसहित गत अप्रिल १२ तरिखमा सम्पन्न झापाली समाज साउदी अरबको दोस्रो महाधिवेशन तथा बृहत सांस्कृतिक र शुभकामना आदानप्रदान कार्यक्रममा ७ लाख रुपैयाँ संकलन भएको थियो। सात लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेर बर्षेनी विपन्न, मेधावी र प्रतिभावान बिद्यार्थीलाई सोही कोषबाट शैक्षिक निरन्तरताका लागि सहयोग स्वरुप छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यले सो रकम प्रदान गरिएको हो।विर्तामोडमा सम्पन्न्न महाधिवेशनमा झापाली समाज साउदी अरबियाका तर्फबाट संस्थापक अध्यक्ष मदन ओडारीले झापाली समाज अमेरिकाका संस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानालाई सो रकम हस्तान्तरण गरेका हुन्। संकलित ७ लाख मध्ये दुई लाख रुपैयाँ अन्य सामाजिक काममा खर्च गरिने झापाली समाज साउदी अरबले जनाएको छ।