झापा: लायन्स क्लब अफ दमक श्रीअन्तुले पाँचथरको कुम्याक गाउँपालिका वडा नं २ माङजाबुङस्थित सिद्ध सरस्वती माध्यमिक बिद्यालयका बिद्यार्थीलाई किताब बोक्ने झोलासहित शैक्षिक सामग्री प्रदान गरेको छ। क्लबका अध्यक्ष समेत रहेका दमकका स्थापित युवा व्यवसायी नेता सुभाषचन्द्र गर्तौंलाको अगुवाइमा बिद्यालयमानै सो सहायता सामग्री प्रदान गरिएको हो। सामाजिक सहयोगको भावना राखेर अध्यक्ष गर्तौलाले दुर्गम तथा पिछडिएको क्षेत्रका विपन्न समुदायका बालबालिकाको शैक्षिक निरन्तरताका लागि सो सहयोग प्रदान गरेका हुन्। क्लबले ९७ थान विद्यालय झोलाका साथै सबै बिद्यार्थीहरुका लागि २ हजार १२० प्रती लेखन कपि, ७ सय ६० वटा डटपेन र एक सेट प्राथमिक उपचार सामाग्री उपलब्ध गराएको जनाइएको छ। सो सहयोगप्रति सिद्ध सरस्वती माविले धन्यवाद प्रकट गरेको छ।