सिक्किमे जनतालाई कुनै पक्षबाट अलिकति पनि आँच आउन दिइनेछैन: प्रेमसिंह तामाङ
गान्तोक: ११औं सिक्किम विधानसभा अन्तर्गत सिक्किमका बत्तीसवटै आसनका सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका उम्मेदवारहरू साथै १८औं लोक सभाका एकजना उम्मेदवारबीच आज मुख्यमन्त्री एवं पार्टी अध्यक्ष प्रेमसिंह तामाङको राजकीय वासस्थान मिन्तोकगाङमा एक जरूरी सभा सम्पन्न भयो।
उम्मेदवाररहरूको बैठक शुरु गरिनुअघि हिजोमात्र दिवङ्गत बनेका पूर्व विधायक एवं एसकेएम पार्टीको केन्द्रिय कार्यकारी समितिका उपाध्यक्ष सोनाम ग्याछो भोटियाको निधनमा उनको आत्माशान्तिको निम्ति दुई मिनटको मौनधारण गरियो। उक्त जानकारी एसकेएम प्रचार प्रसार मुख्य समन्वयक बिकास बस्नेतले आज प्रेस विज्ञप्तिमा दिएका छन्।
बैठकमा मुख्यमन्त्रीले भने, लोकतान्त्रिक प्रक्रिया अन्तर्गत राज्यमा विभिन्न पार्टीको अस्तित्व हुन्छ, प्रचार-प्रसार हुन्छ, चुनाउ सम्पन्न हुन्छ अनि अन्तमा चुनाउ-परिणाम घोषित हुन्छ। यसमा हामीले सुझ-बुझ अनि समझदारीका साथ एउटा सन्तुलित स्थितिमा रहेर, आफ्नो सङ्गठनका सबै सदस्यहरुलाई सही मार्गदर्शन गरेर, शान्ति, सद्भावना, मैत्री अनि भाईचारा कायम गर्नु हाम्रो परम कर्तव्य हो।
उनले अझ भने, भर्खरै मात्र लोकतन्त्रको महापर्व आम-चुनाउको रुपमा सम्पन्न भएको छ भने यसपालीको १८औं लोकसभा अनि ११औं सिक्किम विधानसभा चुनाउ सिक्किमको इतिहासमा पहिलोपल्ट एकदमै शान्तिपूर्ण रुपले सम्पन्न भयो। उनले चुनाउ शान्तिपूर्ण र सुचारू रूपले सम्पन्न गर्न योगदान दिने सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिए। यसपालीको चुनाउमा भाग लिने सबै उम्मेदवारहरु लगायत समस्त सहयोगीगणलाई पनि उनले धन्यवाद सहित शुभकामना व्यक्त गरे।
उनले जानकारी गराउॅंदै भने, यसपटक जम्मा ४,६२,४५६ जना मतदाता, १४६ जना विधानसभा आसनका उम्मेदवार र १४ जना लोकसभाका उम्मेदवारले चुनाउमा भाग लिएका थियौं। राज्यमा यसपाली ८३.५% मतदान भएको छ। २०१९ को तुलनामा यसपाली २% जति बेसी मतदान भएको छ भने देशमै सिक्किमको मतदान अरु राज्यहरु भन्दा बढ़ी रेकर्ड गरिएको छ। यसको निम्ति आदरणीय सिक्किमेली जनसमुदाय हार्दिक धन्यवाद अनि बधाईका अनमोल पात्रहरु हुनुहुन्छ। उहाँहरुलाई आन्तरिक हृदयबाट म मुरी-मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु।
उनले आजको यस सभाको मुख्य विशेषता हामी बीचको सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै सिक्किममा शान्ति, अनि सद्भावना कायम राख्नु रहेको बताए। यसपालीको चुनाउ सिक्किमको इतिहासमा अपूर्व रुपमा सबैभन्दा शान्तिपूर्ण बनेको दाबी गर्दै यसमा सहभागी सबैको भूमिका प्रशंसनीय रहेकोउनले बताए। मुख्यमन्त्रीले आगामी दिनहरुमा पनि सिक्किमे जनताको हितमा राज्यमा पूर्ण शान्ति अनि सुरक्षा कायम राख्ने अभियान जारी रहने बताए। उनले सिक्किमे जनतालाई कुनै पक्षबाट अलिकति पनि आँच आउन दिइनेछैन, कुनै प्रकारले शान्ति अनि सन्तुलन भंग हुन दिइने छैन भनी बताए।
उनले भने, चार जात छतीस वर्ण भनेर वर्णन गरिए पनि सिक्किम आमाका हामी एउटै संतान हौं। हामी बीच, एका-अर्कामा आदर-सत्कार, प्रेमभाव, सहयोग अनि मेलमिलाप हाम्रो सबैभन्दा पहिलो दायित्व हो। हाम्रो राज्यमा शान्ति कानून-व्यवस्था अनि पूर्ण सुरक्षा कायम राख्नु हामी सबैको परम कर्तव्य हो।