झापा: विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ। घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही मई २२ देखि २६सम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो। सो क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको स्रोतले जनाएको छ।
घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण संघका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए। उहनका अनुसार यो प्रजातिको चरा भारत र बंगलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन्। यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको संख्या ३८१ पुगेको छ।
गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, संख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण संघको समन्वयमा चरा गणना गरिएको हो।









