झापा: झापाको बिर्तामोड-४ कालिकानगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।विष्टको हत्या भएको २० दिनपछि हत्या आरोपमा आज पुलिसले बिर्तामोडका गंगा चौधरी र (एक नाम खुल्न बाँकी) लाई पक्राउ गरेको हो। पक्राउ परेकाले हत्या आरोप स्वीकार गरेको पुलिसले जनाएको छ। बिर्तामोड-४ कालिका टोल निवासी ६८ वर्षीया विष्णुमाया विष्टको बैशाख २६ गते हत्या भएको थियो। घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन्। उनको खन्तीले हानेर हत्या गरिएको प्रहरीले सोही समय पुष्टि गरेको थियो। प्रहरीका अनुसार मृतकको शव भुइँमा रगतमा लटपटिएको र कोल्टे परेको अवस्थामा भेटिएको थियो। प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुर समेत मगाएको थियो। कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत दिए पनि लिटल फ्लावर्स स्कुलदक्षिण पुगेपछि अल्मलिएको थियो। प्रहरीले हालसम्म शंकाको घरामा रहेको व्यक्तिहरुलाई बयान तथा सोधपुछ गरेको जनाएको छ। सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी अनारमनीको प्रहरीको टोलीले संयुक्त अनुसन्धान गरिरहेका छन्। घटनास्थलबाट केही प्रमाण पनि बरामद गरेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले घटनास्थल आसपास र केही क्षेत्रमा बसेर घटनाको अनुसन्धान गरिरहेको बताए पनि कुनै सुराक भेट्न सकेको थिएन।