झापा: इटहरी – १६ मा रहेको शिक्षादीप बोर्डिङ स्कुलका शिक्षकले १४ वर्षिय विद्यार्थीमाथि हिजो निर्घात कुटपिट गरेका छन्। कुटपिटबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थी अंसल बुढाथोकीको शरीरका विभिन्न भागमा निलडाम बसेको छ। हिजो साझ स्थानिय मेडिकलमा प्राथमिक उपचार गरिएका बुढाथोकीलाई अहिले दुःखाइ बढेपछि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको उनका ठूलोबुवा राजनले जानकारी दिए। गणित पढाउने शिक्षक पुर्णप्रसाद पोख्रेल (पीपी पोख्रेल) ले हात, ढाड तथा नितम्बमा कुटेको राजनले बताएका छन्। पहिलो घण्टीमा होमकर्व नगरेको निहुँमा कुटिएका अंसललाई गाह्रो भयो भनिरहँदा पनि दिनभरी कक्षामा राखेर यातना दिएको समेत उनले बताएका छन्। ‘अन्धधुन्द कुटेर बेहोस बनाए, गाह्रो भयो, घर जान्छु भन्दा पनि दिनभर कसैले नसुनी बेन्चमै राखे,’ राजनले भने, ‘उसका साथीहरुले पटक पटक उसको पक्षमा बोलिदिँदा पनि कुनै शिक्षकले र विद्यालय व्यवस्थापनले वास्ता गरेनन्।’ कुट्ने शिक्षकले अन्य कक्षामा गएर आफूले अंसललाई कुटेको सगर्व बताएको समेत राजनले जानकारी दिए। राजनका अनुसार अभिभावकलाई भनेमा झन् कुट्ने धम्की शिक्षकले दिएका थिए। ‘साढे पाँच बजे ऊ घर आएको थियो, तर हामीलाई केही भनेन, बरु अर्को अभिभावकबाट हामीले कुरा थाहा पायौं,’ उनले भने, ‘अंसलले कुटाइ खाएको कुरा उसका साथीले अविभावकलाई भनेछन्, अनि तेस्रो पक्षबाट हामीले थाहा पायौं।’ त्यसपछि स्कुललाई सम्पर्क गर्दा स्कुलले गैह्रजिम्मेवारीपूर्ण जवाफ दिएको पनि राजनले बताए। त्यसपछि आफूहरुले आज इलाका पुलिस कार्यालयमा ठाडो उजुरी दिएको बताए। त्यसपछि भने विद्यालयले कुटपिट गर्ने शिक्षकलाई कारवाही गर्न सहयोग गर्ने आश्वासन दिएको उनले बताए। ‘हिजो बेलुका जानकारी गराएको थियो, आज जाहेरी दिए, सर्सर्ती हेर्दा कुटपिट भएको देखिन्छ,’ इलाका पुलिस कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले भने। सो विषयमा विद्यालयको भनाई बुझ्न प्रिन्सिपल सहदेव काफ्लेलाई फोन गर्दा उनको फोन उठेन।