सिलगढी: सिलगढी नगरनिगमले आपूर्ति गरेको खानेपानी पिउन योग्य छैन। यसमा प्रदुषणको मात्रा बढी छ अर्थात् यो पानी प्रदूषित भएको छ। पत्रकार सम्मेलनमा मेयर गौतम देव आफैले सो जानकारी दिएका हुन्। यस्तो अवस्थामा सिलगढीमा शुद्ध पानीको लागि होहल्ला शुरु भएको छ, जनताले के गर्ने बुझेका छैनन्। पानी कहाँबाट ल्याउने, किनकी पानी किनेर पिउने सबैको पहुँचमा छैन। यही कारण जहाँ शुद्ध खानेपानी उपलब्ध छ, त्यहाँ मानिसको लामो लाइन देखिएको छ। सिलगढी विधान रोडमा गोस्तोपाल मूर्तिको अगाडि शुद्ध पिउने पानीको पर्खाइमा मानिसहरूको लामो लाइन देखिन्छ। यससँगै शुद्ध पानी उपलब्ध हुने अन्य ठाउँमा मानिसको लामो लाइन देखिएको छ।
मेयरले नगरपालिका क्षेत्रमा आपूर्ति हुने खानेपानी २ जून दिउँसोसम्म पिउन निषेध गरेका छन्। गौतम देवले हिजो बायोकेमिकल अक्सिजन डिमान्ड (बीओडी) घटेका कारण खानेपानी दूषित भएको बताएका थिए। निगम क्षेत्रमा दैनिक पानी आपूर्ति गरिने भएपनि नगरवासीलाई पानी नपिउन आग्रह गरिएको छ। आपूर्ति गरिएको खानेपानी पिउन बाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने बताइएको छ।
पानीको नमूना परीक्षणका लागि कोलकाता पठाइएको छ। रिपोर्ट आउन पाँच दिन लाग्नेछ। त्यसपछि मात्र पानी पिउन प्रयोग गर्न सकिन्छ। त्यतिन्जेलसम्म पानी नपिउन मेयरले सर्वसाधारणलाई आग्रह गरेका छन्। निगमले खानेपानीको वैकल्पिक व्यवस्था गरेको उनले बताए। एक लाख खानेपानीका पाउच उपलब्ध गराइनेछ। पाँच झोलामा १५ देखि २० हजारसम्म पानीको पाउच दिइनेछ। निगमले हरेक वार्डमा खानेपानीको ट्यांकर पठाउने पनि उनले बताए । तर अधिकांश वडामा ट्यांकर नपुगेकाले खानेपानीको चहलपहल शुरु भएको छ। -न्यूज एसिया