मुम्बई: असमका युवा क्रिकेटर रियान परागलाई आफ्नो कौशल र क्षमतामाथि पूर्ण विश्वास रहेको छ। यसैकारण उनलाई जे भए पनि एकदिन भारतको निम्ति खेल्ने भरोसा रहेको छ। परागले भने, एक न एक दिन त तपाईंले मलाई चयन गर्नु नै पर्नेछ। मलाई एक दिन भारतको निम्ति खेल्ने विश्वास छ तर कहिले खेल्नेछु भन्ने चाहिँ थाहा छैन। असमका २२ वर्षीय ब्याटर परागले आईपीएल २०२४-मा राजस्थान रोयल्सबाट चौथो नम्बरमा ब्याटिंग गर्दै लगभग १५०-को स्ट्राईक रेटले ५७३ रन बनाएका थिए। निरन्तर असल प्रदर्शन गरेर पनि उनी टी२० वर्ल्ड कपको निम्ति भारतीय टीममा स्थान बनाउन विफल रहे। परागले भने, जब रन बनाइरहेको थिइनँ त्यस समय पनि एउटा साक्षात्कारमा मैले एक दिन भारतको निम्ति अवश्यै खेल्ने कुरा गरेको थिएँ। मलाई आफ्नो योग्यतामाथि विश्वास छ। यो मेरो अहंकार होइन। दश सालको उमेरमा क्रिकेट खेल्न शुरु गर्दा मेरो पिता (रेलवे र असमका पूर्व खेलाड़ी पराग दास)-सँग मेरो त्यही योजना थियो।
आईपीएलको प्रदर्शनपछि परागको साथमा अभिषेक शर्मा र हर्षित राणालाई जिम्बाब्वे यात्राको निम्ति भारतीय टीममा चयन गरिने सम्भावना रहेको छ। परागले साल २०१९-मा आईपीएल पदार्पण गरेका थिए। त्यस समय उनलाई राजस्थान रोयल्सले २० लाख रुपियाँमा खरीद गरेको थियो। उनी २०२१-सम्म त्यही टीमको हिस्सा रहे। साल २०२२-मा उनलाई राजस्थान रोयल्सले फेरि ३.८० करोड़ रुपियाँमा खरीद गऱ्यो अनि उनी अहिले पनि यसै फ्रेञ्चाइजीको हिस्सा रहेका छन्। राजस्थान रोयल्सका कप्तान सञ्जु सेमसनले पनि धेरैपल्ट परागको प्रशंसा गरिसकेका छन्।