गान्तोक: आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभाको मतगणनालाई सुचारूपमा सञ्चालन गर्ने उद्देश्य लिएर आज गान्तोक जिल्लाका जिल्लापाल एवम् जिल्ला चुनाउ अधिकारी तुषार निखारले बुर्तुकस्थित डायट कलेजको निरीक्षण गरे। उक्त स्थानमा गान्तोक जिल्लाका निम्ति मतगणना केन्द्र स्थापित गरिएको छ।
निरीक्षणको क्रममा जिल्लापाल सहित पुलिस अधिक्षक कर्मा ग्याम्छो भोटिया, अतिरिक्त जिल्लापाल रोहन आगवाने लगातय अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षणको क्रममा डायट कानून महाविद्यालयमा मोबाइल संग्रह केन्द्र निर्माण गरिएको र मतगणना अधिकारीहरूको निम्ति आवश्यक सुविधा पनि उपलब्ध गराइने भएको जानकारी गराएका छन्।
यसरी नै मतगणना तयारीलाई लिएर थप सुरक्षा व्यवस्था पनि गरिनेबारे समीक्षा गरियो। यसै क्रममा बुर्तुकस्थित हेलिप्याडमा पार्किङको व्यवस्था गरिने पनि जानकारी गराइयो। उक्त पार्किङ विशेष गरेर चुनाउमा खटिएका अधिकारीहरूको निम्ति चिन्हित गरिएको छ। विशेष गरेर चुनाउमा खटिएका सबै अधिकारीहरूले सहजरूपमा आफ्नो वाहन पार्किङ गर्न सकोस् र उनीहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने ध्येयले पार्किङ निर्माण गरिएको हो।