नाम्ची: नाम्ची जिल्लाका काउन्टिङ सुपर भाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबजर्भरहरूलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। उल्लेखनीय छ, आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना तयारीलाई लिएर हाल राज्यको सबै जिल्लाका मतगणना अधिकारीहरूलाई लिएर प्रसिक्षण कार्यक्रम सम्पन्न भइरहेको छ। यस प्रशिक्षण कार्यक्रममा चुनाउ प्रकोष्ठकी उप सचिव भूमिका छेत्री, महकुमा अधिकारी छिरिङ नोर्ग्याल थिङ, महकुमा अधिकारी (मुख्यालय) गोपाल कुमार छेत्री लगायत अन्य अधिकारीहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नोडल अधिकारी गोपाल कुमार छेत्रीले प्रशिक्षार्थीहरूलाई मतगणना प्रक्रियामा उनीहरूको भूमिकाको महत्त्व र यस प्रशिक्षणले सम्पूर्ण चुनाउ प्रक्रियालाई कसरी परिभाषित गर्नेछ भन्ने बारेमा संक्षिप्त रूपमा जानकारी गराए। उनले सहभागीहरूलाई सक्रिय रूपमा सत्रमा संलग्न हुन प्रोत्साहित गर्दै मतगणना अधिकारीहरूको कुनै पनि लापरवाहीलाई आयोगले अनुशासनात्मक कारबाही गर्ने कुरा अवगत गराए। सोही क्रममा भूमिका छेत्रीले सम्पूर्ण मतगणना प्रक्रियालाई विस्तृत रूपमा जानकारी गराइन्। उनले अधिकारीहरूले मतगणनाको दिनमा के-कस्ता कार्यहरू गर्नुपर्छ भन्नेबारेमा जानकारी गराइन्। उनले प्रशिक्षार्थीहरूलाई उक्त दिन सक्रिय रूपमा संलग्न भइ काम गर्नुपर्ने आग्रह गरिन्। सोही क्रममा छिरिङ नोर्गायल थिङले मतगणना अधिकारीहरूको निम्ति सबै कुराको व्यवस्था एसआइआरडी भवनमा गरिएको अवगत गराए। आजको यस प्रशिक्षण कार्यक्रममा कूल १८० जना मतगणना अधिकारीहरूले सहभागिता जनाएका थिए।
.