सिलगढी: पश्चिम बंगालको हुगली जिल्लाको बैँचीग्रामबाट आएका पर्यटक ५८ वर्षीय पार्थसारथी मुखर्जी गएको गत आइतबारदेखि बेपत्ता भएका छन्। पार्थसारथी आफ्ना परिवार सदस्यहरू साथै गाउँले अमित च्याटर्जी, सन्जित ब्यानर्जी र तपन भट्टाचार्यका परिवार सदस्यहरूसित सिटोङ भ्रमणमा आएका थिए। उनीहरूको टोलीमा लगभग १४-१५ जना सदस्यहरू थिए। पार्थसारथी हराए पछि उनकी पत्नी सपना मुखर्जी र छोरा सप्निल मुखर्जीले सिलगढी पुलिस कमिश्नरेटमा रिपोर्ट दर्ता गरेका छन्। उनीहरूले दर्ता गरेको रिप्रोट अनुसार आफूहरूको भ्रमण टोली सिटोङको यश होमस्टे (फोन नम्बर ६२९५०६२०३८/९७३४१२८३१८)मा आएर बसेका थिए। गएको २६ 26 मई, आइताबारको दिन टोलीका अन्य सदस्यहरू साइट सिनका लागि निस्किए। तर पार्थसारथी मुखर्जी चाहिँ बिसन्चो भएको कारण कतै गएनन्। उनी होमस्टेमै बसिरहेको समाचार छ। आफूहरूलाई सिटोङसम्म पुऱ्याउने चालक पलभीन (फोन ८९४४९७८३७१) अनुसार, बिहान १० बजेतिर पार्थसारथी पैदल हिँड्दै ओरालो जाँदै थिए। उनले चालकलाई ‘सेभोकमा कसैलाई भेट्नु जानुछ’ भन्ने कुरा गरेपछि चालकले उनलाई राजमार्ग १० को बिरिक डाँडासम्म लिफ्ट दिएका थिए। त्यसपछि पार्थसारथी सिक्किमतिरबाट आइरहेको बसमा चढेका थिए। त्यहाँबाट उनी बेपत्ता भएका छन्। उनीसँग कुनै प्रकारको सम्पर्क भएको छैन। पार्थसारथीको सम्पर्क नम्बर ८९४४९७८३७१ मा पनि फोन लागेको छैन।