तेञ्जिङ नोर्गेलाई मरणोपान्त भारत रत्न दिनु पर्ने मांग
सोनादा: सोनादा शेर्पा प्रोग्रेसिभ सांस्कृतिक सोसाईटीद्वारा आज सोनादामा तेञ्जिङ नोर्गे शेर्पाको ११०औं जन्म जयन्ती पालन गरिएको छ। यसको साथै १७औं अन्तरार्ष्ट्रीय एभरेष्ट दिवस पालन गरिएको छ। फुर्बा शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा तेञ्जिङ नोर्गे शेर्पाको छोरा जामलिङ नोर्गे शेर्पा उपस्थित रहेका थिए। उक्त कार्यक्रममा नै फुर्तेम्बा शेर्पाद्वारा शेर्पा संस्कृतिमाथि लेखिएको पुस्तकको पनि लोकार्पण गरिएको छ। उक्त कार्यक्रमलाई मिमी शेर्पाले सञ्चालन गरेका थिए। यसै कार्यक्रममा विभिन्न उच्च सरकारी ओहोदामा पुगेका शेर्पाहरूलाई सम्बर्ध्दना जनाइएको छ भने विभिन्न बोर्ड परीक्षाहरूमा उच्च अंक ल्याएर उत्तीर्ण विद्यार्थीहरूलाई पनि यसै कार्यक्रममा सम्बर्ध्दना जनाइएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रम अघि शेर्पा एसोसिएशनद्वारा तेञ्जिङ नोर्गे शेर्पालाई मरोणापान्त भारत रत्न दिने मांगसहित सोनादामा शान्ति रैली पनि निकालिएको थियो। उक्त शान्ति रैली सोनादाको शेर्पा गुम्बाबाट शुरु भएर सोनादा बजार परिक्रमा गरेर पुन: गुम्बामा पुगेर समापन भएको थियो। उक्त तेञ्जिङ नोर्गे शेर्पाको ११०औं जन्म जयन्ती र सम्बर्ध्दना कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै शेर्पा सांस्कृतिक शाखाको सभापति दोर्जे शेर्पाले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले विश्वको सर्वोच्च पर्वत माउण्ट एभरेष्टमा पहिलोपल्ट पुग्ने तेञ्जिङ नोर्गे शेर्पालाई मरोणापान्त भारत रत्न दिनु पर्ने मांग गरेका छन्।