जलपाईगढी: पुलिसले एक छात्रालाई आत्महत्या गर्न उक्साएको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ। जलपाईगढी शहरको अदारपाडा क्षेत्रमा सोमबार दिउँसो एक छात्राले सुसाइड नोट लेखेर आत्महत्या गरेको बताइएको छ। सुसाइड नोटमा अभियुक्तको नाम पेशाले शिक्षक रहेका देवराज तालपात्रा रहेको उल्लेख छ। उनी विवाहित हुन् भने दुई सन्तान पनि छन्। यसबाहेक देवराज एक धार्मिक संस्थासँग आवद्ध छन्। मंगलबार जलपाईगढी कोतवाली थानाको पुलिसले उनलाई पक्राउ गरी अदालतमा पठाएको थियो। पारिवारिक स्रोतका अनुसार देवराज उक्त धार्मिक संस्थामा गएका कारण छात्राको परिवारसँग नजिक भए। उनी एक वर्षभन्दा बढी समयदेखि बालिकाको घरमा आउने गर्थे। हिजो दिउँसो पौल्मी बोस नामकी २१ वर्षीया युवतीले आफ्नै घरमा डोरीले झुण्डिएर आत्महत्या गरेकी समाचार छन्। स्मरण रहोस्, विज्ञान स्नातक छात्रा आर्थिक विपन्नता झेल्दै पढ्दै थिइन्। यसपटक उनी मेडिकल जाँचको तयारीमा थिइन्। ती छात्राले सुसाइड नोट लेखेकी थिइन्। पुलिसले अनुसन्धानका क्रममा सुसाइड नोट बरामद गरेको छ। मृतकका बुबाले भने, ‘मेरी छोरीको मृत्युमा देवराज जिम्मेवार छ, छोरी फिर्ता पाउँदिनँ, तर दोषीलाई कडा सजाय चाहन्छुl’ यता अभियुक्त देवराज तालपात्राले भने आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेका छन्। उनले छात्राको परिवारलाई धार्मिक कार्यक्रमका क्रममा भेटेको बताए। सुसाइड नोटमा उनको नाम लेखिएको भन्दै पुलिसले उनलाई पक्राउ गरेको छ। तर उनले आफूलाई निर्दोष भएको दाबी गरेका छन्। अभियुक्त विरुद्ध धारा ३०६ बमोजिम मुद्दा दर्ता गरी अदालतमा पेश गरिएको पुलिस उपरीक्षक उमेश खाँडबहालेले जानकारी दिए। अभियुक्तको धरौटी निवेदन खारेज भएको सहायक सरकारी वकिल सिन्धुकुमार रायले जानकारी दिए। अदालतले १४ दिन हिरासतमा राख्न आदेश दिएको छ।