डुबेको छोरा बचाउन खोला पसेका शिक्षकको डुबेर मृत्यु

IMG-20240529-WA0096.jpg

झापा: पौडी खेल्ने क्रममा नाबालक छोरा आपतमा परेको देखेपछि उद्धार गर्न खोलामा पसेका झापाका एक शिक्षकको मंगलबार मई २८को दिउँसो डुबेर मृत्यु भएको छ। नवज्योति माध्यमिक विद्यालय बाहुनडाँगीका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको जिल्ला पुलिस कार्यालय झापाले जनाएको छ। मेचीनगर नगरपालिका ३ बडाखालका ४० वर्षीय भण्डारी १२ वर्ष र ८ वर्षका दुईजना छोराहरू लिएर दोकान डाँडाचोक पश्चिम निन्दा खोला गएका थिए। पौडी खेलेर कान्छो छोरा खोलाको छेउमा बसिरहेका थिए। पौडी खेल्ने क्रममा अलिक गहिरोमा पुगेपछि जेठो छोरालाई पौडी खेल्न समस्या भएको थियो। छोरालाई समस्या परेको देखेपछि भण्डारी छोरालाई बचाउन खोलामा पसे। छोरालाई जसोतसो धकेलेर किनारमा पुर्‍याउन सफल भएपनि आफू भने जोगिन नसकेको स्थानीयको भनाइ छ।बुबा डुबेपछि छोराहरूले स्थानीयलाई खबर गरेका थिए। त्यस बेला सम्ममा उनी अचेल भइसकेका थिए। उद्धार गरेर स्थानीयले उनलाई बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याए पनि बचाउन नसकिएको स्थानीय बलभद्र आधारभूत विद्यालयका शिक्षक देबु बानियाँले बताए। अस्पताल पुर्‍याएको केही बेरमा नै चिकित्सकले शिक्षक भण्डारीलाई मृत घोषणा गरेका थिए। अत्यधिक गर्मी छल्न, बिदाको दिन छोराहरूलाई पौडी खेलाउन र केही बेर घुमाउन घरबाट निस्कनु भएका शिक्षक भण्डारीको मृत्यु भएपछि गाउँ नै शोकमा परेको स्थानीयले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement