मंगन: आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभाको चुनाउलाई लिएर मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले एक बैठक आयोजना गरे। जिल्लापाल एवम् जिल्ला चुनाउ अधिकारी छेत्रीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा सम्वन्धित अधिकारीहरूलाई मतगणना सम्वन्धि विस्तृतरूपमा जानकारी गराइयो।
उनले मतगणना प्रक्रियालाई सफल पार्नको निम्ति सबै अधिकारीहरूले आफ्नो तर्फबाट उत्कृष्ठ र इमान्दारपूर्वक पहल गर्नुपर्ने आग्रह गरे। बैठकमा जिल्लापालले पदाधिकारीको भूमिका, जिम्मेवारी, समय र तोकिएको कर्तव्य पूरा गर्ने पारदर्शिता र दक्षता, भीड र ट्राफिक आवागमन नियन्त्रणका विषयमा गहन छलफल र विश्लेषण गरे। मतगणना तयारीलाई लिएर आगामी ३१ मईको दिन पुन: एक बैठक आयोजना गरिने र उक्त बैठकमा सबैजना अनिवार्यरूपमा उपस्थित हुनुपर्ने उनले बताए।
आजको यस बैठकमा अतिरिक्त जिल्लापाल विशु लामा, महकुमा अधिकारी पेमा वाङछेन नामकर्पा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।