झापा: धनकुट्टा जिल्लाको छथर जोरपाटी गाउँपालिका-४ पाथीभरामा मई २८अपरान्ह करिब ५ बजे मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्। घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको छ ।मृत्यु हुनेमा छथर जोरपाटी-५ ताम्लिङका ४५ वर्षीय बीरबहादुर खनाल रहेको पुलिसले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। बाँधबिसौनाबाट स्थानीय डेगबहादुर अधिकारीको शव बोकेर दाहसंस्कारका लागि तमोर नदीको त्रिवेणी जानेक्रममा को १ त ९७३७ नंबरको ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला पुलिस कार्यालयका इन्स्पेक्टर होम अधिकारीले जानकारी दिए।ट्र्याक्टर सडकबाट करिब एक सय मीटर तल खसेको जनाइएको छ। तीन वटा ट्र्याक्टरमा मलामी सवार मध्ये एउटा ट्र्याक्टर दुर्घटनामा परेको थियो। दुर्घटनामा समीर लिम्बु, नगेन्द्र थापा, अर्जुन थापा, थर्कबहादुर अधिकारी, ध्रुबबहादुर अधिकारी, रेगिन्द्र अधिकारी, भीमबहादुर काफ्ले लगायत १८ यात्रु घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए ।घाइते अधिकांसको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये चार जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि पठाइएको छ।