एसकेएम पार्टीमा आउने कुनै पनि पार्टीका सदस्यहरूलाई धोका नहुनेः मुख्यमन्त्री गोले

IMG-20220809-WA0156.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीमा आउने कुनै पनि पार्टीका सदस्यहरूलाई धोका हुने छैन्। यस पार्टीमा सामेल भएपछि पार्टीको हितमा काम गर्नु पर्ने मुख्यमन्त्री प्रेम सिंह तामाङले सुझाउ दिएका छन्। उक्त कुरा मुख्यमन्त्री तामाङले आज राजधानीस्थित सम्मान भवनमा विभिन्न पार्टी त्याग गर्दै एसकेएम पार्टीमा सामेल हुन आउनेहरूलाई स्वागत जनाउने क्रममा भनेका हुन्। यस कार्यक्रममा विभिन्न पार्टी त्याग गर्दै १६० जना भन्दा अधिकको उपस्थिति रहेको थियो भने भोलि १० अगस्त जन उनमुक्ति दिवसको अवसरमा एसकेएम पार्टीमा सामेल हुने भएका छन्। स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले हाल एसकेएम पार्टीको नीति र सिद्धान्त र कार्यशैलीलाई मन पराएर पार्टीमा राज्यभरिबाट सामेल हुने क्रम जारी रहेको छ भने भोलि जोरथाङमा पालन गरिने जन उनमुक्ति दिवसको अवसरमा एसडीएफ पार्टीका वरिष्ठ नेता लगायत सक्रिय कार्यकर्ता साथै पञ्चायतगण सामेल हुने जानकारी गराए। उनले थप जानकारी गराए अनुसार एसडीएफ पार्टीका अध्यक्ष एवम पूर्व मुख्यमन्त्री पवन चामलिङसँग आफ्नो व्यक्तिगत दुशमनी नरहेको केवल सैद्धान्तिकरूपमा मात्र दुशमनी रहेको बताए। पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री तामाङले हाल चामलिङले एसडीएफ पार्टी छोडेर एसकेएम लगायत अन्य पार्टीमा सामेल हुनेहरूप्रति विभिन्न प्रकारको टिप्पणी गर्दै आइरहेकोमा आपत्ति जनाए। जुन कार्यकर्ता र नेताहरूको कारण उनले २५ वर्षसम्म शासन गरे आज उनीहरूलाई नै गाली गर्नु भनेको चामलिङको सबै भन्दा ठूलो भूल साथै मुर्खता रहेको अवगत गराए। कार्यकर्ताहरूलाई क्रेडिट दिन नसक्नु चामलिङको सबै भन्दा ठूलो कमजोरी रहेको मुख्यमन्त्रीले किटान गरे। हालसम्म विभिन्न पार्टी त्याग गर्दै धेरै जनाले एसकेएम पार्टीमा बसेर काम गरिरहेका छन् तर आफूले कहिल्यै पनि उनीहरूसँग भेदभाव नगरेको आफ्नो सम्बोधनमा उल्लेख गरे। हाल राज्यका विभिन्न पार्टीहरूले जन उनमुक्ति दिवसबारे नकारात्मक टिप्पनी गरिरहेको बारे बोल्दै आ-आफ्नो पार्टीको नीति,सिद्धान्त हुने गर्छ र जन उनमुक्ति दिवस पनि एसकेएम पार्टीको एक कार्यक्रम रहेको हुनाले कसैले टिप्पनी गर्न भन्दा अघि एक पल्ट सोच्नु पर्ने सुझाउ दिए। तर विपक्षी दलहरूले विभिन्न प्रकारको प्रश्न गरेर जनतालाई दीघभ्रमित तुल्याउने प्रयास भइरहेको उनले मन्तव्य प्रकट गरे।यदि जन उनमुक्ति दिवसलाई सरकारी कार्यक्रम बनाएको भए सबैले प्रश्न गर्न सक्थे तर यो विशुद्ध पार्टीको कार्यक्रम भएको हुनाले यस विषयमा प्रश्न उठाउने कुरा नै आउँदैन्, उनले भने। पार्टीका कार्यकर्ता साथै राज्यका जनताले आफूलाई जुन प्रकारले विश्वास गरेर यहाँ पुऱ्याएको छ उनीहरूलाई अन्तिमसम्म साथ दिने मुख्यमन्त्रीले बचन दिए।

एसकेएम पार्टी सरकारमा आएको तीन वर्षको अवधिमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै विकास भएको दावी गरे। सिक्किम राज्यले धेरै क्षेत्रमा देशलाई उदाहरण प्रस्तुत गरेको छ। यसै क्रममा पार्टीमा सामेल हुने नयाँ सदस्य कर्मा सुब्बाले एसकेएम पार्टीको नीति,सिद्धान्त र कार्यशैली मन पराएर यस पार्टीमा सामेल हुने मन बनाएको बताए। यस एसडीएफ पार्टी पुरानो भयो भने नयाँ पार्टीमा सामेल भएपछि इमान्दारपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे। एसडीएफ पार्टीका अध्यक्ष चामलिङले पार्टीलाई कम्पनी जस्तै सञ्चालन गरेको कारण अहिले सबै नेता साथै कार्यकर्ताहरूले छोडेक अवगत गराए। विगत तीन वर्षमा वर्तमान सरकारले जुन कामहरू गऱ्यो आफूहरू सो कामबाट प्रभावित बनेको जानकारी गराए। हामीले सोचेको र चाहेको जस्तो नेता प्रेम सिंह तामाङ रहेको महसुस भएपछि गाउँका सबैजना यस पार्टीमा नै जानु पर्छ भन्ने निर्णय लिएको सुब्बाले बताए। एसकेएम पार्टीका कार्यकर्ताहरू भाग्यमानी हुन् जसले प्रेम सिंह तामाङ जस्तो मुख्यमन्त्री पाएका छन्। यस अवसरमा विधायक जीटी ढुङ्गेलले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *