मुम्बई: बलिउड पार्श्व गायक अभिजित भट्टाचार्यले सन् ८० देखि ९० दशकको बीचमा पाश्र्व गायन करियर शुरु गरे। त्यो समयमा बलिउड संगीतको महत्वपूर्ण हिस्सा थिए। उनले बलिउडलाई धेरै अविस्मरणीय गीतहरु दिएका छन्। पछिल्लो दशकमा भने उनका गीतहरु कमैमात्र सुन्न पाइएको छ। अब यिनै अभिजित बहुप्रतिक्षित वेब सिरिज ‘पञ्चायत सिजन ३’मा गीत गाएर पार्श्व गायनमा कमब्याक गर्दैछन्। ललित पण्डितले कम्पोज गरेको ‘थामे दिल को’मार्फत अभिजित पाश्र्व गायनमा फर्किएका हुन्। गीतमा आलोक रन्झा झाको शब्द छ। सोलो रोमान्टिक भावको गीतले सन् ९० को दशकको झल्का दिन्छ।
अभिजितले सन् २०१३ मा रिलिज रणवीर कपूर स्टारर फिल्म ‘बेसरम’मा ‘दिलका जो हाल हे’ गाएका थिए। यो गीतलाई पनि सन् ९० को दशकको फ्लेभरमा ललित पण्डितले नै कम्पोज गरेका थिए। ‘बेसरम’ पछि सन् २०१९मा ‘खान्दानी सफाखाना’ नयाँ भर्सनको ‘शहर कि लड्की’मा स्वर दिएका थिए। सन् २०२० मा उनले फिल्म ‘कुली नम्बर वान’को गीत ‘हुस्न है सुहाना’ गाएका थिए। उनले सन् २०१६ मा ‘महायोद्धा रामा’, ओटिटी फिलम ‘सुक्रनु(२०२०), ‘लभ यु लोकतन्त्र(२०२२) र ‘द पूर्वाञ्चल फाइल्स(२०२३) मा पनि स्वर दिएका थिए। तर यी गीत खासै चर्चामा आएनन्। ‘पञ्चायत सिजन ३’ अमेजन प्राइम भिडियोबाट मंगलबारदेखि प्रसारणमा आएको छ। यो सिरिजमा जितेन्द्र कुमार, रघुवीर यादव, निना गुप्ता, फैसल मलिक र चन्दन रोय प्रमुख भूमिकामा छन्।