पेरिस: रातो माटोको बादशाह रहने दिग्गज टेनिस खेलाड़ी रफायल नडालले आफ्नो प्रिय ग्राण्ड स्ल्याम फ्रेञ्च ओपनमा पहिलो राउण्डमै हारको सामना गर्नु पऱ्यो। रोलाँ ग्यारोको रातो माटोमा रेकर्ड १४ पल्टका च्याम्पियन स्पेनिश दिग्गज नडाललाई यसपाली जर्मनीका अलेक्जेण्डर ज्वेरेवले पुरुष एकलको पहिलो राउण्डमा ६-३, ७-६ (७-५), ६-३-ले पराजित गरे। यसरी विश्वका पूर्व नम्बर एक खेलाड़ीलाई जन्मदिनको ठीक अघि ठूलो झट्का लाग्यो। नडाल ३ जूनमा ३८ वर्षका हुनेछन्। साल २००५-मा यहाँ पहिलोपल्ट खिताब जितेपछि नडालको फ्रेञ्च ओपनमा ११६ वटा म्याचमा यो केवल चौथो हार हो। यसबाहेक पेरिसमा उनी शुरुवाती राउण्डमै बाहिर भएको यो पहिलोपल्ट हो। नडाललाई यहाँ सम्भवतः अन्तिमपल्ट खेलिरहेको हेर्न स्टेडियममा लगभग १५००९ दर्शक भेला भएका थिए अनि उनीहरूले म्याचपछि ताली बजाएर स्पेनिश दिग्गजको अभिवादन गरे।
बाईसपल्टका ग्राण्ड स्ल्याम च्याम्पियन नडाल जनवरी २०२३-देखि चोटसँग जुझिरहेका छन्। यस साल उनले १५ वटा म्याच खेलेर उनको रेकर्ड ८-७-को रहेको छ। चोटले गर्दा नै विश्वका पूर्व नम्बर एक खेलाड़ीको ऱ्याङकिंग झरेर २७५औं भएको छ अनि यसपाली उनले फ्रेञ्च ओपनमा पहिलोपल्ट गैर वरीयता प्राप्त खेलाड़ीको रूपमा हिस्सा लिएका थिए। यसैकारण पहिलो राउण्डमै उनको भिड़न्त विश्वका चौथो नम्बरका खेलाड़ी ज्वेरेवसँग भयो, जो २०२०-मा यूएस ओपनमा उपविजेता रहेका थिए। ज्वेरेवले टोक्यो ओलम्पिकमा स्वर्ण पदक जितेका थिए अनि गत तीन सालमा प्रत्येकपल्ट यहाँ सेमिफाइनलमा पुग्ने एकमात्र खेलाड़ी हुन्। स्पेनिश दिग्गजले यसअघि २०२४ उनको अन्तिम सीजन रहने संकेत दिएका थिए तर फ्रेञ्च ओपनमा हारपछि उनले स्पष्ट रूपमा केही बताएनन्। उनले भने, सर्वप्रथम मलाई समर्थन गर्न यहाँ उपस्थित सबैलाई धन्यवाद। मेरो निम्ति अहिले केही बोल्नु कठिन छ। यो सब तपाईंहरू अघि अन्तिमपल्ट भइरहेको छ या छैन भन्ने मलाई केही थाहा छैन। मेरो निम्ति त्यस स्थानका मानिसहरूका मायालाई अनुभव गर्नु धेरै खास रह्यो, जसलाई म सबैभन्दा धेर माया गर्छु। उल्लेखनीय छ, फ्रेञ्च ओपनमा नडाल यसअघि २०१०-मा रबिन सोडरलिंग अनि २०१५ र २०२१-मा नोवाक जोकोविच विरुद्ध पराजित भएका थिए।