न्यूयोर्क: दुई जूनदेखि शुरु हुने आईसीसी टी२० वर्ल्ड कपको निम्ति अमेरिका जाने भारतीय खेलाड़ीहरूका पहिलो झुण्ड न्यूयोर्क पुग्यो। यसअघि शनिवार कप्तान रोहित शर्मा र मुख्य प्रशिक्षक राहुल द्रविड़सहित अन्य केही खेलाड़ीहरूले अमेरिका प्रस्थान गरेका थिए । भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) -ले आफ्नो आधिकारिक सोशल मीडिया ह्याण्डलमा आउँदो टी२० वर्ल्ड कपको निम्ति खेलाड़ीहरू अमेरिका पुगेको एउटा भीडियो शेयर गरेको छ। भीडियोमा भारतीय क्रिकेटरहरूलाई न्यूयोर्कको एयरपोर्टबाट बाहिर निस्किएर टीम बसमा चड़िरहेको देखिएको छ। आईपीएलको प्लेअफ् र फाइनलले गर्दा विराट कोहली र अन्य खेलाड़ीहरू चाहिँ दोस्रो झुण्डमा अमेरिका जानेछन्। टी२० वर्ल्ड कपमा भारतले ग्रुप ए-मा ५ जूनमा आयरल्याण्ड विरुद्ध म्याचको साथ आफ्नो अभियान शुरु गर्नेछ। भारत र पाकिस्तानबीच बहुप्रतीक्षित म्याच ९ जूनमा रहेको छ। त्यसपछि भारतले सह-आयोजक अमेरिका र कनाडा विरुद्ध क्रमशः १२ र १५ जूनमा म्याच खेल्नेछ। उल्लेखनीय छ, भारतले एमएस धोनीको कप्तानीमा २००७-मा टी२० वर्ल्ड कपको पहिलो संस्करणमा खिताब जितेको थियो।










