गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भइसकेको भन्दै भारतीय जनता पार्टीले सिक्किम सरकारका दुईजना शीर्ष अधिकारी आइएएस छेवाङ ग्याछो भोटिया र स्टेट ब्याङ्क अफ् सिक्किमका प्रवन्धन निर्देशक फुर्बा वाङ्गदी भोटियालाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेको छ। यस सन्दर्भमा पार्टीको एउटा प्रतिनिधि टोलीले सिक्किम सरकारका मुख्य सचिवलाई भेटेर ज्ञापनसमेत बुझाएको छ। तल्लो तहका सरकारी कर्मचारीहरूले फेशबुक पोस्टमा लाइक र कमेन्टसम्म गर्दा कामबाट हात धुनपरेको तर अर्कोतिर उच्च अधिकारीहरूले भने कुनै पार्टीमा सामेल भएर पार्टीको मञ्चबाट भाषणसमेत गरेर पनि फेरि सरकारमा फर्किआएको अनि सरकारी वेतन खाइरहेको भाजपा प्रवक्ता पासङ शेर्पाले बताए।
यसले राज्यको प्रशासनमाथि ठूलो प्रश्न चिन्ह लगाएको छ भन्दै ती अधिकारीहरूलाई झट्ट पदबाट बर्खास्त गरिनुपर्ने सिक्किम प्रदेश भाजपाले माग गरेको छ। जीपीएफ र सीपीएफ-को कोष कथित रुपमा दुरुपयोग भएको सन्दर्भमा पनि आफूहरूले मुख्य सचिवसित स्पष्टिकरण मागेको शेर्पाले बताए।
यसरी नै स्टेट ब्याङ्क अफ् सिक्किममा भएको ६९ करोड़ रुपियाँको वित्तीय धाँधलीलाई लिएर पनि सिक्किम प्रदेश भाजपाले आज नै प्रवर्तन निर्देशालयको गान्तोक शाखामा लिखित उजुरी दर्ता गराएको छ। यसको साथै प्रवर्तन निर्देशालयलाई आफूहरूसित रहेका केही प्रमाणहरू पनि बुझाएको पासङ शेर्पाको बताए। एसबीएस-मा ६९ करोड़ मात्र होइन तर त्यो भन्दा धेरै धनराशि हिनामिना भएको हुनसक्ने सिक्किम प्रदेश भाजपाको आशङ्का जताएको छ।
उल्लेखनीय छ, पछिल्ला समय स्टेट ब्याङ्क अफ् सिक्किममा ब्याङ्ककै तीन शीर्ष अधिकारीले ६९ करोड़ रुपियाँ हिनामिना गरेको खुलासा भएको छ।