जलपाईगढी: मैनागढी राधिका पुस्तकालय विकास मञ्चले मैनागढीमा रहेको सयौं वर्ष पुरानो पुस्तकालयलाई पुनस्र्थापना गरी पुरानो वैभवमा ल्याउन माग गरेको छ। पुस्तकालयको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। त्यसैगरी पुस्तकालयको जग्गा केही षड्यन्त्रकारीले अवैध रुपमा अतिक्रमण गरिरहेको आरोप छ। मैनागढी राधिका पुस्तकालय विकास मञ्चका सदस्यहरू आज जिल्ला अधिकारीको कार्यालय पुगेर सम्पूर्ण मामिलाबारे जिल्ला अधिकारीलाई जानकारी गराए। उक्त पुस्तकालयको जग्गाको सम्पूर्ण कागजपत्र मैनागढी राधिका उन्मुक्ति मञ्चसँग भए पनि अतिक्रमण भइरहेको उनले बताए। ब्लक जग्गा तथा मालपोतका अधिकारीलाई पटकपटक सम्पर्क गरिए पनि समाधान हुनसकेको छैन। यस सम्पूर्ण विषयमा आज राधिका पुस्तकालय विकास मञ्चले जिल्ला अधिकारीको कार्यालयलाई जानकारी गराएको छ, जसमा यस पुस्तकालयको जीर्णोद्धार र पुस्तकालयमा रहेका पुराना पुस्तकहरूको संरक्षण गर्ने पनि उल्लेख गरिएको छ।