बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंगलादेश र म्यानमारका केही भूभाग विभाजन गरेर पूर्वी तिमोर जस्तो देश बनाउने षड्यन्त्र भइरहेको दाबी गरेकी छन्। उनले यस्तो कहिले हुन नदिने बताइन्। यद्यपि, प्रधानमन्त्री हसिनाले आफ्नो बयानमा यो योजनाको पछाडि कुन देशको हात रहेको बताएकी छैनन्। बंगलादेशी वेबसाइट द डेली स्टारको रिपोर्टका अनुसार शेख हसिनाले ७ जनवरीमा भएको चुनावअघि आफूलाई आफ्नो देशको सीमाभित्र एयरबेस बनाउन अनुमति दिएमा बिना कुनै झन्झट प्राप्त गर्ने प्रस्ताव आएको पनि दाबी गरेकी छन्। तर, यहाँ पनि उनले आफूलाई यो अफर कुन देशबाट आएको हो भन्ने खुलाएनन्।
आइतबार गोनो भवनमा १४ दलको बैठकलाई सम्बोधन गर्दै अवामी लिग अध्यक्ष हसिनाले यस्तो टिप्पणी गरेकी हुन्। समाचारका अनुसार देशमा चुनावपछि अवामी लिगका अध्यक्षसँग १४ दलको यो पहिलो बैठक थियो। बंगलादेशी प्रधानमन्त्रीले आफूले आन्तरिक र बाह्य दुवै रूपमा कठिन चुनौतीहरूको सामना गरिरहेको र आफूविरुद्ध षड्यन्त्र रचिएकोमा जोड दिइन्। प्रधानमन्त्री हसिनाले आफ्नो सम्बोधनमा भनिन्, ‘पूर्वी तिमोर जस्तै उनीहरु बंगलादेश र म्यानमारका केही भाग लिएर क्रिश्चियन राष्ट्र बनाउन खोजिरहेका छन्, जसको आधार बंगालको खाडीमा हुनेछ।‘ उनले बंगालको खाडी र हिन्द महासागर हुँदै शताब्दीयौंदेखि व्यापारिक गतिविधि हुँदै आएको तर अहिले धेरैको नजर यही क्षेत्रमा रहेको बताइन्। उनले यस क्षेत्रमा कुनै विवाद नरहेको बताइन्। उनले यो क्षेत्रमा यस्तो हुन नदिने बताइन्।