चेन्नई: आईपीएल २०२४-को सीजन एकतर्फी फाइनलको साथ समाप्त भयो। आइतवार राति एमए चिदाम्बरम स्टेडियममा कलकत्ता नाइट राइडर्स (केकेआर)-ले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरी आईपीएल ट्रफी जित्यो। आईपीएलमा यो केकेआर-को तेस्रो खिताब हो। फाइनल म्याच समाप्त भएपछि भव्य पुरस्कार वितरण समारोह पनि भयो, जसमा टीम र खेलाड़ीहरूमाथि पैसाको वर्षा भयो। यसको साथमा टुर्नामेण्टमा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूलाई पनि पुरस्कार प्रदान गरियो। आईपीएलको १७औं संस्करणमा च्याम्पियन हुने केकेआर-को टीमलाई झल्मलाउँदै ट्रफीको साथमा २० करोड़ रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने सनराइजर्स हैदराबादको टीमलाई १२.५ करोड़ रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यी दुई टीमको साथ प्लेअफ्-मा स्थान बनाउने अन्य दुईवटा टीमले पनि मोटो रकम हासिल गऱ्यो। तेस्रो स्थानमा रहने राजस्थान रोयल्सको टीमलाई ७ करोड़ रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी एलिमिनेटर म्याचमा हार्ने रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले ६.५ करोड़ रुपियाँ पायो।
यसरी आईपीएल २०२४-मा सर्वाधिक २४ विकेट हासिल गर्ने पञ्जाब किंग्सका हर्षल पटेलले पर्पल क्यापको साथमा १० लाख रुपियाँको पुरस्कार जिते। यसरी सर्वाधिक ७४१ रन बनाउने आरसीबी-का विराट कोहलीले ओरेञ्ज क्यापको साथमा १० लाख रुपियाँ हासिल गरे। केकेआर-का सुनिल नरेनले दुईवटा पुरस्कार जिते। उनले मोस्ट भ्याल्यूएबर प्लेयर अव् द सीजन र फेण्टेसी प्लेयर अव् द सीजनको पुरस्कार जिते। यसको साथमा क्यारेबियन अलराउण्डरले जम्मा २० लाख रुपियाँको नगद पुरस्कार हासिल गरे। एमर्जिंग प्लेयर अव् द सीजनको पुरस्कार सनराइजर्सका नीतीश कुमार रेड्डीको नाममा रह्यो। उनलाई १० लाख रुपियाँको पुरस्कार प्रदान गरियो। सर्वाधिक स्ट्राईक रेटको निम्ति दिल्ली क्यापिटल्सका जेक फ्रेसर-म्याकगर्कले इलेक्ट्रिक स्ट्राईकर अव् द सीजनको पुरस्कार अनि १० लाख रुपियाँ हासिल गरे। यसरी सर्वाधिक ४२ वटा छक्का लगाउने सनराइजर्सका ओपनर अभिषेक शर्माले १० लाख रुपियाँको साथमा सुपर सिक्सेस अव् द सीजनको पुरस्कार जिते। यसरी सर्वाधिक ६४ वटा चौका लगाउने सनराइजर्सकै ट्रेविस हेडले १० लाख रुपियाँको नगद पुरस्कार जिते। सीजनको सर्वश्रेष्ठ क्याचको पुरस्कार केकेआर-का रमनदीप सिंहले जिते। उनले पनि १० लाख रुपियाँको नगद पुरस्कार हासिल गरे। फेयर प्ले ट्रफी सनराइजर्स हैदराबादको झोलीमा गयो। यसबाहेक सर्वश्रेष्ठ पीच अनि ग्राउण्डको पुरस्कार हैदराबाद क्रिकेट एसोसिएशनले जित्यो। यसमा ५० लाख रुपियाँको नगद पुरस्कार पनि सामेल थियो।










