झापा: झापामा माछा पालन गर्दै आएका एक व्यक्तिमाथि आक्रमण भएको छ। अर्जुनधारा नगरपालिका-१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत मई २१मा राति साढे ११ बजे आक्रमण भएको हो। अर्जुनधारा नगरपालिका-१ कै ३५ वर्षीय कृष्ण भनिने सन्तोष एक्तेनले टंकबहादुरमाथि छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।पुलिसका अनुसार टंकबहादुरको अहिले बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ। टंकबहादुरमाथि अर्जुनधारा-६ मा रहेको माछापोखरीको डिलमा बनाइएको छाप्रोमा सुतिरहेको बेला अचानक सन्तोषले आक्रमण गरेका हुन्।टंकबहादुरको दुबै खुट्टा तथा शरीरका विभिन्न भागमा छुरा प्रहार भएको पुलिसले जनाएको छ। आफन्तका अनुसार निद्रामा रहेका बेला सन्तोषले आएर एकाएक आक्रमण गरेका थिए। सन्तोष टंकबहादुरका भतिजा हुन्। उनी झगडालु स्वभावका व्यक्ति हुन्। उनले टंकबहादुरलाई हेप्ने, तर्साउने, गालीगलौज गर्ने, बिनाकारण निहुँ खोज्ने गर्थे।राति आक्रमणपछि सन्तोषलाई छिमेकीहरूले समात्न खोजेका थिए। तर, छुरा देखाएर उनी भागेका थिए। पीडितकी छोरी सलिनाले सन्तोषविरूद्ध इलाका पुलिस कार्यालय अनारमनीमा निवेदन दिएकी छिन्। ‘आमा मिर्गौलाको बिरामी छिन, नियमित उपचारमा लैजानुपर्छ, बुवलाई यसरी घाइते बनाएपछि परिवारको बिचल्ली भएको छ,’ सलिनाले भनिन्, ‘आक्रमण गर्नेमाथि कडा कारबाही होस्, हामीलाई न्याय दिइयोस्।’इलाका पुलिस कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टका अनुसार सन्तोष अहिले फरार छन्। उनीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। ‘फरार भएका व्यक्तिको खोजी भइरहेको छ,’ विष्टले भने।